मकवानपुरका पूर्णबहादुरको हत्यामा दोषी ठहर भएका शंकर पक्राउ
मकवानपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मकवानपुरको साविक चित्लाङ गाबिस–३ सिरूपाटा ठेगाना भएका तत्काल नेपाली सेनाको श्री नम्बर ७ बाहिनीस्थित अड्डा चनवन मकवानपुरमा कार्यरत ४७ वर्षीय शंकर आलेलाई प्रहरीले पक्राउ गरेको छ ।
आले समेतका व्यक्तिहरूले मकवानपुरको साविक चित्लाङ गाविस–३ स्थित कच्ची सडकमा मकवानपुरको साविक मार्खु गाबिस–४ बस्ने पूर्ण बहादुर बिष्टलाई व्यक्तिगत रिसिइवीका कारण २०६१ कात्तिक २९ गते बेलुकी कुटपिट गरेका थिए । त्यसको भोलिपल्ट मकवानपुरको मार्खु र चित्लाङ भन्ने स्थानको दोसाँधमा पर्ने काल्सिङ खोलामा पूर्ण बहादुरको शव फेला परेको थियो ।
जिल्ला अदालत मकवानपुरको २०७२ वैशाख २३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा शंकरलाई साविक मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) बमोजिम जन्म कैद हुने ठहर भएपछि िउनी फरार रहेका थिए । फरार भएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नवलपरासी देवचुली नगरपालिका–३ प्रगतिनगरबाट आइतबार पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको छ ।