नक्कली नोटसहित हेटौँडा, मकवानपुरगढी र कैलाशबाट ५ जना पक्राउ

लोकखबर
२८ बैशाख २०८१, शुक्रबार १३:२९

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाबाट नक्कली नोटसहित ५ जना पक्राउ परेका छन् । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ कुवापानी बस्ने १८ वर्षीय किशोरलाई नेपाली १ हजार दरको १२ थान नक्कली नोटसहित बुधबार दिउँसो र अन्यलाई अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेको हो ।

किशोरले कैलाश ९ को कुवापानीस्थित किराना पसलमा सामान किन्दा नक्कली नोट दिएको भन्ने खबर पाएपछि अस्थायी प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । साथै थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ घर भई हेटौँडा ४ हुप्राचौर डेरा गरी बस्ने ३४ वर्षीय सुनिल ढुंगानालाई पनि पक्राउ गरेको छ । कैलाशबाट पक्राउ परेका किशोरलाई सोधपुछ गर्दा उनलाई त्यो पैसा सुनिलले दिएको खुलेपछि सुनिललाई उनको डेराबाट पक्राउ गरिएको हो ।

सुनिलको डेराकोठामा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा उनको साथबाट रु.१ हजार दरको नक्कली नेपाली नोट ४२ थान र उनका १८ वर्षीय छोराको साथबाट रु.१ हजार दरको नक्कली नेपाली नोट १ थान गरी ४३ हजार नक्कली नेपाली नोट फेला परेको प्रहरीले जनाएको छ ।

साथै थप अनुसन्धानका क्रममा नक्कली नोट छाप्ने र त्यसलाई वितरण गर्ने कार्यमा मकवानपुरगढी ४ बस्ने बर्ष २० को सोमराज थोकर र सोही ठाउँका बर्ष २८ को रामेश्वर अर्याल समेत संलग्न रहेको थाह पाएपछि उनीहरुलाई पनि पक्राउ गरिएको हो । उक्त घटनामा संलग्न पांचै जनालाई मुद्रा सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट जम्मा ५५ हजार थान नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*