हेटौँडा १४ मा पत्रकारहरुलाई थर्काएको आरोप
मकवानपुर । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका २ संचारकर्मीहरुलाई वडाअध्यक्षले थर्काएको भन्दै पिडित पत्रकारहरुले विरोध जनाएका छन् । समाचार संकलनका लागि मंगलबार वडा कार्यालय पुुगेका सौर्य दैनिकका छवि अनित्य र हिमालयन टाईम्स तथा प्रदेश संचार दैनिकका मन्जिता मैनालीमाथि वडाध्यक्ष दिपक खड्काले दुर्व्यवहार गरेको पत्रकार छवि अनित्यले आरोप लगाएका छन् ।
खड्काले ‘सबै पत्रकार चोर हुन्’ भन्दै वडाध्यक्षको कार्यकक्षबाट थुतेर बाहिर निकाल्ने धम्की दिएको पत्रकार अनित्यले बताए । खड्काले गालीगलौजको भाषा प्रयोग गर्न थालेपछि अडियो रेकर्ड गर्न लाग्दा सञ्चारकर्मीको मोबाइल समेत थुतेर राखेका थिए ।
चेपाङ समुदायको एउटै घरका ६ जना बालबालिकाको जन्मदर्ता बनाउन कठिनाई भएको विषयमा जानकारी लिन पत्रकार अनित्य र मैनाली त्यहाँ पुगेको बताइएको छ। यस विषयमा नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमलाई जानकारी समेत गराइसकिएको बताउँदै पत्रकार अनित्यले वडाध्यक्ष खड्काको अभद्र शैली र सबै पत्रकार चोर हुन् भन्ने भाष्य तत्काल सच्याउनका लागि पत्रकारहरूका सबै पेसागत संघसंस्थाहरूले संस्थागत दबाब दिन र सहज वातावरणमा समाचार संकलन गर्ने अवस्था सिर्जना गराउन सहयोग गर्न मदत मागेका छन् ।











































