हेटौँडाका छुट्टाछुट्टै स्थानमा मक्रानचुलीका दुई जना मृत फेला
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३, मक्रान्चुलीका २ जना व्यक्तिहरु हेटौँडाका छुट्टा–छुट्टै स्थानमा मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार मक्रानचुलीका दिपक घोरासैनी हेटौँडा–२, पल्पसारोडस्थित ड्रागन होटलमा मृत अवस्थामा फेला परेका छन् । त्यस्तै मक्रान्चुलीकै ५२ बर्षीय कृष्ण भन्ने ईन्द्र बहादुर खड्का पनि मंगलबार बिहान ९ बजेको समयमा हेटौँडा–२, वनस्खण्डीस्थित बिनोद लामिछानेको पुरानो मान्छे नबसेको घरको सिडीमा मृत अवस्थामा भेटिएका हुन् ।
मृतकमध्ये होटलमा मृत अवस्थामा फेला परेका दिपक आइतबारदेखि होटलमा बस्दै आएका थिए । मंगलबार बिहान एक पटक बाहिर निक्सिएको देखिए पनि दिनभर आउजाउ गरेको नदेखिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको उपस्थितिमा मंगलबार साँझ ८ बजेको समयमा ढोका फोडेर हेर्दा दिपक मृत भेटिएको मकवानपुर प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै वनस्खण्डी स्थित लामिछानेको पुरानो घरको सिँडीमा मृत अवस्थामा फेला परेका खड्का एक महिना अगाडिदेखि घर छाडेर हिँडेको र बिरामी समेत रहेको भन्ने बुझिएको प्रहरीले जनाएको छ । खड्काको शव आफन्तले बुझेर लगेको प्रहरीले जानकारी दिएको छ ।











































