हेटौँडामा ६ दिने हेल्थ रिसर्च तालिम सकियो

मकवानपुर । मकवानपुरको हेटौँडामा हेल्थ रिसर्च सम्बन्धी तालिम समापन भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा अवस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अनुसन्धान केन्द्रले डाटा म्यानेजमेन्ट तथा एनालाईसिस प्रोसेस एन्ड साइन्टिफिक राइटिङ इन हेल्थ रिसर्च सम्बन्धी अनुसन्धान तालिम आयोजना गरेको हो ।
६ दिनसम्म भएको तालिमको बुधबार समापन गरिएको छ। कार्यक्रम विश्वविद्यालय अनुदान आयोगको अनुदान तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्तरिक बजेटमा संचालन भएको थियो ।
कार्यक्रम प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सुरेन्द्र शेरचनको अध्यक्षता तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्व राज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
३० जना प्रशिक्षार्थीहरुले ६ दिने अनुसन्धान तालिममा सहभागिता जनाएका थिए । तालिममा त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक डाक्टर प्रनिलमान सिंह प्रधान, डाक्टर गम्भीर श्रेष्ठ, लेक्चरर दीपकराज जोशी र वि.पी कोईराला इन्स्टिच्युट अफ हेल्थ साईन्सका सहप्राध्यापक डाक्टर प्रज्वल प्याकुरेलले प्रशिक्षण दिएका थिए ।
स्वास्थ्य अनुसन्धानका डाटा व्यवस्थापन तथा विश्लेषण र स्वास्थ्य अनुसन्धानमा वैज्ञानिक लेखनको लागि नेतृत्व विकास गराउने प्रमुख उदेश्यले तालिम आयोजना गरेको बताइएको छ । प्रतिष्ठानका डीन प्राध्यापक दुर्गा कुमारी खड्का मिश्र, प्रमुख प्रशासकीय अधिकृत अमर सिंह अधिकारी, अनुसन्धान समितिका अध्यक्ष तथा शिक्षक नम्र कुमार महतो लगायत प्रतिष्ठानका सम्पूर्ण विभागीय प्रमुख, शिक्षक तथा कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम समापन गरिएको प्रतिष्ठानका अनुसन्धान संयोजक डाक्टर रोशन कुमार चौधरीले बताए ।