प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न

लोकखबर
११ जेष्ठ २०८१, शुक्रबार १६:१९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १३औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम तथा कवाज प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियारलाई स्वर्गीय “कुलानन्द विद्या सर्वप्रथम पुरस्कार” प्रदान गरे । साथै उनले सर्वद्वितीय एवम् प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सगुन खड्का, सर्वतृतीय तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक आयुष ढुङ्गाना, मस्केट्री तथा चाँदमारी प्रथम एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोकुल कुमार धानुकलाई पुरस्कार प्रदान गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको हरेक जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको स्मरण गरे । गौरवमय इतिहास बोकेको संगठनका आज दीक्षित अधिकृतहरूले आफ्नो जिम्मेवारी व्यावसायिकतापूर्वक निर्वाह गर्दै नागरिकलाई एक कुशल प्रहरीले प्रदान गर्ने सेवाको अनुभूति हुने गरी सेवा प्रदान गर्न सफल हुने विश्वास उनले व्यक्त गरे ।

तालिमका दौरानमा गरेको मेहेनतले भोलिका दिनमा कार्यक्षेत्रमा आउन सक्ने हरेक चुनौतीको सामना गर्न सफल र सक्षम हुने विश्वास लिएको बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘तालिममा सिकेको सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु । साथै, कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने कुरामा पनि म विश्वस्त छु ।’

प्रधानमन्त्री दाहालले नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यवसायिक एवम् कानूनी राज्यको अवधारणाप्रति प्रतिवद्ध प्रहरी जनशक्तिबाट मात्र नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सम्भव हुने भएकाले राष्ट्रले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्नसक्ने दक्ष र योग्य जनशक्ति उत्पादनतर्फ प्रशिक्षण केन्द्र संवेदनशील हुनुपर्ने उल्लेख गरे ।

उक्त अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रतिष्ठानले राष्ट्रप्रति समर्पित, योग्य र सक्षम प्रहरी जनशक्ति उत्पादन गर्दै आएको बताए । नेपाल प्रहरीलाई सक्षम, सुदृढ र जनमैत्री सुरक्षा संगठनको रूपमा विकास तथा विस्तार गर्न प्रहरी कर्मचारीको व्यावसायिकता र वृतिविकासमा टेवा दिन तथा प्रतिकूल परिस्थितिमा पनि राष्ट्रप्रतिको सेवाभावलाई दृढ बनाई राख्न प्रतिष्ठानले निर्वाह गरेको भूमिकाको उनले प्रशंसा गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*