तारको जालो देखेर स्थानीयको आक्रोश,आगो लगाईदिने चेतावनी
मकवानपुर । मकवानपुरको हेटौँडामा पछिल्लो समय नेट र केबल टिभी सेवा प्रदायकहरुले बजारका पोलभरि छाडेका अव्यवस्थित तारको जालोका कारण स्थानीयहरु आक्रोशित हुन थालेका छन् । पछिल्ला केही हप्तादेखि हेटौँडाका स्थानीयहरुले सामाजिक सञ्जालमा तारको जालोहरु पोष्ट गर्दै सम्बन्धित निकायले त्यसामा ध्यान नदिएमा आगो लगाईदिने चेतावनी समेत दिएका छन् ।
यसैबिच पछिल्लो पटक हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोल दूध डेरी पछाडिको सडकको पोलहरुमा रहेका तारहरु जथाभावी रुपमा रहेको हुँदा स्थानियहरुमा ठूलो समस्या उत्पन्न भएको बताएका छन् । स्थानियले सामाजिक संजालमार्फत सम्बन्धित निकायलाई यो समस्या तत्काल समाधान गर्न अनुरोध गरेका छन्।
स्थानीय संग्राम बल लामाले आफ्नो फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, ‘यस्तो खालको अनावश्यक तारहरु सम्बन्धित संस्थाले व्यवस्थापन गर्न एक हप्ते अल्टिमेटम दिन चाहन्छु, त्यसपछि आगो लगाईदिन्छु । ’ संग्राम जस्ता स्थानीयहरुको आक्रोश त उदाहरण मात्रै हुन् । हेटौँडाका पोलहरुमा डामाडोल अवस्थामा रहेको तार देखेर यहाँ अन्य क्षेत्रबाट आउने आन्तरिक पर्यटकहरु पनि छक्क पर्ने गरेका छन् । विशेषगरी ईन्टरनेट सेवा प्रदायकहरुले पोलमा जथाभावी कनेक्सन बक्स र तारहरु लथालिङ्ग अवस्थामा छोड्ने गरेका कारण समस्या माथि समस्या थपिएको छ ।
हुन त स्थानीय तहले सूचना जारी गर्दै यस्ता तारहरु हटाउन र व्यवस्थित गर्न आग्रह गरेको छ तर यसलाई ईन्टरनेट प्रदायकहरुले सुनेको नसुन्यै गरिरहेका छन् । पछिल्लो पटक हेटौँडा २ तथा अन्य क्षेत्रमा पनि ईन्टरनेट सेवा प्रदायक र स्थानीय तहले मिलेर तारको व्यवस्थापन गर्ने गरेका उदाहरणहरु छन् । तर ती कार्यहरु नगण्य मात्रै रहेको छ । सेवा प्रदायकहरुले नयाँ तार फेरिपछि पुरानो तारहरु पनि त्यत्तिकै पोलमा छोड्ने गरेको स्थानीयहरु बताउँछन् ।
पोलहरुमा जथाभावी झुण्डिएका तारहरुको दृश्यले सुरक्षा र सौन्दर्यमा गम्भीर असर पारेको छ। केही महिना अघिमात्रै ईन्टरनेट सेवा प्रदायकले त्यत्तिकै छोडेको तारले घाँटीमा बेरिँदा हेटौँडाका एक युवाको जीवन नै खतरामा परेको थियो । हेटौँडाका पोलहरुमा तारहरु जथाभावी लतारिएका छन्, जसले पैदलयात्री र सवारी साधनका लागि ठूला खतरा निम्त्याउँछ। कुनै पनि समयमा तारहरु झर्ने वा तानिन सक्ने सम्भावना रहन्छ, जसले दुर्घटना निम्त्याउन सक्छ।
त्यस्तै अव्यवस्थित तारहरुका कारण विद्युत तथा इन्टरनेट सेवामा बारम्बार अवरोध उत्पन्न भइरहेको छ। यसले दैनिक जनजीवन र व्यवसायमा प्रत्यक्ष असर पारिरहेको छ। तारहरुको अव्यवस्थित झुण्डले शहरको सौन्दर्य बिगार्दैछ। पर्यटक र आगन्तुकहरुमाथि नकारात्मक प्रभाव पारिरहेको छ, जसले स्थानीय व्यवसायमा पनि असर पुर्याउँछ।
सम्बन्धित निकायले तुरुन्तै क्षेत्रको निरीक्षण गरी अव्यवस्थित तारहरुको सूची तयार गर्ने र आवश्यक र अनावश्यक तारहरुको पहिचान गरी अनावश्यक तारहरु हटाउनुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् । साथै स्थानीय सरकारले पनि स्थानीय बासिन्दालाई तार व्यवस्थापन र सुरक्षा सम्बन्धी जानकारी दिनुपर्ने देखिएको छ ।