मापसेका गरेकालाई ट्राफिक सेवामा लगाउने कार्यको आलोचना
मकवानपुर । ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयमसेवक बनाउने प्रावधानलाई लिएर संसदमा चर्को आलोचना भएको छ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर यस विषयमा आफ्नो असहमति प्रकट गरे।
खतिवडाले उपप्रधानमन्त्रीको महिलाका लागि महिनावारीको समयमा चार दिन बिदा दिने प्रस्तावलाई सकारात्मक ठहर गरे पनि यसका लागि कानुन आवश्यक रहेको औंल्याए। “ट्विटमा महिलालाई चार दिन बिदा दिने कुरा गर्नुभएको छ। कानुन बनाएर गर्दा राम्रो हुन्छ र यसका लागि हामी धन्यवाद दिन चाहन्छौं,” खतिवडाले भने।
तर, खतिवडाले ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिलाई स्वयमसेवक बनाउने कार्यलाई कानुनको उल्लङ्घन भन्दै आलोचना गरे। “मापसे गरेका व्यक्तिहरुलाई सडकमा उभ्याउने कुरा कुन कानुन र नियममा आधारित छ?” खतिवडाले प्रश्न गरे। उनले मुलुक हुकुमी शासनमा नभइ कानुनी शासनमा चल्नुपर्नेमा जोड दिए। “कुनै पनि काम गर्दा कानुन निर्माण गरेर मात्र गर्नुपर्छ,” उनले थपे।