हेटौँडाका रेफ्री अकिललालको हृदयघातका कारण मृत्यू
मकवानपुर । मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष अकिललाल श्रेष्ठको हृदयघातका कारण मृत्यू भएको छ । हेटौँडा १३ निवासी ४० वर्षीय श्रेष्ठको बुधबार हृदयघातका कारण अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यू भएको अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले जानकारी दिएका छन् ।
बुधबार दिउँसो छाती दुखेको भन्दै स्वास्थ्य परीक्षण समेत गराएका श्रेष्ठलाई राती दुखाई अझ बढेको परिवारले बताएका छन् । दुखाई बढेपछि अस्पताल लिएर जाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।
रेफ्री श्रेष्ठको निधनमा मकवानपुर जिल्ला फुटबल संघले बिहिबार शोक मनाउँदै जिल्लाभर फुटबलका क्रियाकलाप रोक्न आग्रह समेत गरेको छ । श्रेष्ठको श्रीमति र एक छोरा छन् ।











































