पशु ढुवानी मापदण्डबारे एनिमल नेपालद्वारा पत्रकारसँग छलफल

मकवानपुर । एनिमल नेपाल धोबिघाट, ललितपुरको आयोजनामा विहीबार वीरगन्जमा पशु ढुवानी मापदण्ड २०६४ कार्यान्वयनको अवस्था, समस्या र समाधान सम्बन्धी पत्रकारहरुसंग छलफल गरिएको छ ।
पशु ढुवानी मापदण्ड २०६४ पूर्ण रुपमा कार्यान्वयन भने हालसम्म नभएको कार्यक्रममा चर्चा भयो । एनिमल नेपालले सञ्चालन गरेको पशु कल्याण सम्बन्धी कार्यक्रम बाराका फिल्ड सुपरभाइजर धर्मेन्द्र शाहले पशु ढुवानी मापदण्ड करिब ६० प्रतिशत कार्यान्वयनमा रहेको बताए । ‘पशु ढुवानी मापदण्ड २०६४ अझै पनि पूर्ण रुपमा कार्यान्वयन भने भएको पाइँदैन । ६० प्रतिशत कार्यान्वयन भएपनि अझै ४० प्रतिशत यो कार्यान्वयन हुन बाँकी छ ।’ फिल्ड सुपरभाइजर शाहले भने ।
मापदण्ड पूर्ण रुपमा कार्यान्वयनका लागि सरकारी तर्फबाट विशेष भूमिका हुनुपर्ने छलफलमा जोड दिइयो । पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६, पशु ढुवानी मापदण्ड २०६४ लाई पूर्ण कार्यान्वयन गर्नका लागि समुदायमा सचेतना अधिवृद्धि गर्नुपर्ने पत्रकारसँगको छलफलमा चर्चा भयो । मापदण्ड विपरित पशु ढुवानी कार्यमा संलग्नलाई कारवाही स्वरुप जरिवना लिँदा कम भएकाले पनि पटक पटक गल्ती दोहोर्याउने काम भइरहेको पाइएको कार्यक्रममा चर्चा भयो । कम जरिवना भएकाले गल्ती नरोकिने गरेकाले जरिवनाको दायरा बढाउनुपर्ने कार्यक्रममा बताइयो ।
पशु ढुवानी मापदण्ड २०६४ अनुसार हरेक गाडीमा प्राथमिक उपचार बाकस हुनुपर्ने, शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै गाडीमा गर्नु नहुने, राँगा भैसीसँग पाडा पाडी मिसाउन नहुने, सबै रांगा, भैसी, बोका, खसीको टाउको र मुख अगाडि चालक पट्टी फर्केको हुनुपर्ने, नाकमा र पुच्छरमा बाँध्न नहुने, रांगा भैंसी, बोका खसीले टेक्ने भुईमा ६ इन्च वाक्लो भुस पराल वा सोत्तर हालेको हुनुपर्ने, गाडिको साइडमा फोम टाँसेको हुनुपर्ने, ठूला पशुलाई प्रति पशु ०.८४ देखि १.२७ वर्ग मिटर स्थान उपलब्ध गराउनुपर्नेछ । साथै एउटा ट्रकमा २० वटा मात्र रोगा भैसी ढुवानी गराउनुपर्ने, दैनिक ८ घण्टा भन्दा बढी गाडीमा दुवानी गराउन नहुने, गाडीमा घाँस, पराल र दाना राखेको हुनुपर्ने, गाडीमा ८ घण्टा ढुवानी गरेपछि पशुलाई ओरालेर दाना पानी खुवाउनुपर्ने, गाडी ४० किलोमिटरको रफ्तारमा वा सोभन्दा विस्तारै हाँक्ने र झ्याप्प ब्रेक नलगाउने नउफ्रने गरी आरामसँग ढुवानी गर्नुपर्ने मापदण्डमा रहेका विषय लगायतमा कार्यक्रममा छलफल भएको हो ।
नेपालमा पशुकल्याणका विषयमा संस्थाले प्राथमिकताका साथ कार्य गर्दै आइरहेको एनिमल नेपालका फिल्ड अफिसर शत्रुघन पटेलले जानकारी दिए । उनका अनुसार काठमाडौं, बारा, चितवन, पोखरा, धनगढी, नेपालगन्ज र भैरहवामा पशुकल्याण सम्बन्धी कार्यक्रमलाई संस्थाले सञ्चालन गरिरहेको छ । सडक नाटक तथा सचेतनामूलक कार्यक्रममार्फत पशु कल्याण कार्यक्रमलाई प्रभावकारी बनाउन आफूहरु लागिपरेको पटेलले बताए ।
सबै जीवित प्राणीको स्वतन्त्र, सहज, र आरामदायी ढंगले बाँच्ने इच्छा र अधिकार रहने भएकाले उनीहरुका लागि सुनिश्चित गरिएका अधिकारलाई पूर्ण कार्यान्वयन गर्नका लागि सबै सरोकारवालाहरु उत्तिक्कै जिम्मेवार हुनुपर्ने संस्थाका फिल्ड अफिसर सिताराम पटेलले बताए ।
पशु कल्याण, जनावरहरुको जन्मदेखि मृत्युसम्म उनीहरुले महशुस गर्ने शारीरिक तथा मानसिक अवस्थासँग सम्बन्धित हुने भएकाले उनीहरुलाई स्वतन्त्रपूर्वक र अर्थपूर्ण रुपमा बाँच्न दिनु र अमानवीय हस्तक्षेप हुन नदिनु नैं पशु कल्याण भएकाले यसतर्फ सरोकारवालाको ध्यान जानपर्ने कार्यक्रममा जोड दिइयो ।