सरकारले उपेक्षा गर्यो, कैलाश ४ का स्थानीयले चन्दा उठाएरै बनाए सडक !
मकवानपुर । सरकाले उपेक्षा गरेपनि समुदाय जुट्दा गाउँमा सडक निर्माण गर्न सकिने गतिलो उदाहरण बनेको छ-मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ४, गर्खाल, चम्पाखानी देउराली सडक । भौगोलिक रुपमा विकट कैलाश ४ स्थित चम्पाखानी, धुुसराङ र देउरालीका तामाङ र चेपाङ समुदायका ४४ जना स्थानीयले छाक कटाएर जम्मा गरेको नगद र एक महिनाको मेहनतको प्रतिफल साँढे २ किलोमिटर नयाँ ट्रयाकसहित पाँच किलो मिटर बाटो निर्माण भएको हो ।
स्थानीयले सडक निर्माणका लागि बजेट छुट्याउन गाउँपालिकासँग पटक पटक भनेपनि आफूहरुको माग वेवास्ता गरिएपछि मुठ्ठीदान तथा श्रम योगदान गर्दै गाउँमा बाटो निर्माण गरिएको हो । राक्सिराङ गाउँपालिकाको वडा नम्बर ३, लावती हुँदै कैलाश गाउँपालिका वडा नम्बर ४, गर्खाल, चम्पाखानी देउराली सडक जोडिएपछि अब गाउँका उत्पादन बजार र बजारबाट आवश्यक सामग्री गाउँसम्म ढुवानीका लागि सहज भएको हो ।
स्थानीले हजार-दुई हजारदेखि आफ्नो गच्छे अनुसारको चन्दा २ लाख ७५ हजार, एक सय रुपैंया, स्थानीय देउराली सामुदायिक संस्थाबाट ५ लाख ७२ हजार ९ सय सत्तरी, श्रमदान २ लाख ६१ हजार छ सय गरी एघार लाख नौ हजार ६ सय ७० रुपैया लागतमा ५ किलोमिटर ग्रामीण सडक निर्माण गरिएको हो । यस्तै, कैलाश गाउँपालिकाले ५ सय लिटर डिजेल, लालिगुराँश सिमेन्ट उद्योगबाट १४ घण्टा ब्रेकर मेसिन र राक्सिराङ गाउँपालिकाबाट १३ घण्टा मेसिन सहयोग प्राप्त भएको थियो ।
पिछडिएको बस्ती त्यसमा पनि अनिकालका बेलामा छाक कटाएर निर्माण गरिएको यो ग्रामीण सडक बुधबार उद्घाटन गरिएको छ । बाटो निर्माणका लागि सबै तहका सरकारले अपेक्षा गरेपनि आफूहरुको अग्रसरताले मुर्त रुप लिएकोमा कैलाश ४ नम्बर वडाबासी यतिबेला उत्साहित भएका छन् । ‘हामीले पटक पटक गाउँपालिकासँग बाटो खन्नका लागि आवश्यक बजेट व्यवस्था गर्न भन्यौं । तर हाम्रो आवाज सुनिएन ।’ बाटो निर्माणका लागि अगुवाई गरेका स्थानीय केशव मुक्तानले भावुक हुँदै भने-‘स्थानीय सरकारको आँखाले हाम्रो यो पिछडिएको बस्ती नदेखेर के भो त हामी एक छाक गास काटेर भएपनि आफ्नो लागि बाटो आफैं खन्न सफल भयौं ।’ उनकै नेतृत्वमा गाउँमा भएको एक छिनको सानो भेलाले मुठ्ठीदानमार्फत सङ्कलित आर्थिकबाट बाटो निर्माण गर्ने निर्णय गर्यो । ‘बाटो खन्न कति दिन लाग्छ लागोस्, काम पूरा नगरी विश्राम नलिने भन्दै चन्दा सहयोग उठाउन सुरु गरियो ।’ उनले भने,‘यसरी हामी स्थानीय गाउँलेबाट सङ्कलित २ लाख ७५ हजार एक सय रुपैंया हामीले तेल किन्नमा खर्च गर्यौं ।’ उठेको पैसा तेल किन्नमा सकिएपछि तेल ढुवानीका लागि कतिपयले सहयोग गरेको उनले सुनाए ।
सडक निर्माणमा पालिकाले सहयोग नगरेपनि मन बुझाएका उनीहरुलाई बाटो निर्माण सुरु गर्न लाग्दा पुुर्याइएको अवरोधले चित्त दुःखेको छ । सडक खन्न डोजर ल्याउने क्रममा बीचमा छेकेर अर्कै बाटो राक्सिराङको लावती हुँदै ल्याउन बाध्य पारिएको उनीहरुले गुनासो गरे ।
सडक निर्माणका लागि आफूहरुले गरेको माग सुनुवाई नहुँदा दुःख लागेको वडा सदस्य निमराज चेपाङले बताए । ‘पटक-पटक वडामार्फत गाउँपालिकामा बजेट माग्न जाँदा पनि पिछडिएको यो ठाउँमा विकास होस् भन्नेमा सरकारको ध्यान गएन ।’ उनले दुुःखेसो गरे ।
सडक निर्माणका लागि ५ लाख ७२ हजार ९ सय ६० रुपैंया चन्दा सहयोग गर्ने स्थानीय देउराली सामुदायिक संस्थाका अध्यक्ष रामसिं थिङ गाउँका मान्छेले खाई नखाई जम्मा गरेको पैसाको सही सदुपयोग गर्न पाइएको बताउँछन् । थिङका अनुसार यो संस्थामा रहेका २४ जना सदस्यले मासिक पचास रुपैंया जम्मा गर्दै आइरहेका छन् । यस्तै अत्यावश्यक सहयोगात्मक काममा संस्थाबाट खर्च गरिदै आइएको उनको भनाई छ ।
ग्रामीण सडक निर्माणका लागि अगुवाई गरेका विष्णुराम चेपाङ अबका दिनमा यो चेपाङ तथा तामाङ बस्तीका बिरामी र सुत्केरीलाई यातायातमार्फत अस्पताल लैजान सकिने भएकाले आफूहरुलाई निकै खुशी लागेको बताउँछन् । ‘यहाँका चेपाङ तथा तामाङ बिरामी एवम् सुत्केरी हुँदाको पीडाका विषयमा स्थानीय सरकारको ध्यान गएन ।’ चेपाङ भन्छन्,‘ अब चाँही यो बस्ती विकासका लागि उहाँहरुको नजर पर्छ की ?’ स्थानीय सरिता चेपाङ बाटो बनेपछि स्वास्थ्य उपचारका लागि अब आफूहरुलाई सहज हुनेमा दङ्ग छिन् । ‘यहाँबाट नजिक पर्ने कालिकाटारमा स्वास्थ्य संस्था भएपनि वर्षाका बेला त्यता जान सकिँदैन ।’ उनले भनिन् ‘हामीले बनाएको नयाँ बाटोबाट अब बिरामीको उपचार गराउँन लैजान पाइने भएको छ ।’
सडक निर्माणका लागि विभिन्न रुपले सहयोग गरेका छिमेकी पालिका राक्सिराङ ३ का पूर्व वडाध्यक्ष बाबुलाल स्याङतान विकास पछि आगामी दिनमा गाउँलेको जीवनशैली परिवर्तन हुने बताउँछन् । उनी भन्छन्,- ‘यहाँको तेजपत्ता, साग, स्कुस अब यतिकै खेर फाल्नुपदैन, गाडीमा हालेर बजार पठाउँदा गाउँमा पैसा आउँछ । यहाँका मान्छेले अब पैसा कमाउने छन् । उनीहरुको जीवनस्तरमा अब परिवर्तन देख्न सकिनेछ ।’ विगतमा एक बोरा चामल किन्न ५ हजार खर्च हुने गरेकोमा अब त्यसको आधा अर्थात् २५ सय खर्च लगाए पुग्ने हुँदा सडक निर्माणबाट धेरै पाटामा लाभ हुने उनी बताउँछन् ।
कैलाश गाउँपालिकाका पूर्व अध्यक्ष टंक मुक्तान विगतमा आफूले देखेर पनि पूरा गर्न नपाएको सडक निर्माणको सपनालाई साथर्कता दिन स्थानीय आफैं अघि सरेकोमा खुशी व्यक्त गर्छन् । ‘नामटारको उत्पादन हेटौंँडा, मनहरी, नारायणघाट हुँदै लैजानु भन्दा यही सडक लिक्चे, सेङ्सिराङ, देउतिस, लावती, मनहरी हुँदै नारायणघाट पुर्याउने योजना बनाइएको थियो ।’ पूर्व अध्यक्ष मुक्तान भन्छन्, ‘अर्को तर्फ सिमपानी सरिखेत हुँदै काठमाडौं चन्द्रागिरीको बाटो यही बाटोबाट जोड्ने योजना बनाएका थियौं । गाउँपालिकामा पूरा समयम नेतृत्व गर्न नपाउँदा विगतमा ति योजना पूरा हुन नसके पनि अहिले सफलतातिर उन्मुख भइरहँदा खुशी लागेको छ ।’ वर्तमान गाउँपालिकाले आफ्नो पालिकाको विकट बस्तीमा ध्यान नदिँदा चामल किन्न खर्च गर्ने पैसा स्थानीयले बाटो बनाउँन लगाउनुपरेको उनी बताउँछन् । पालिका सरकार अहिले यस्ता ग्रामीण सडक निर्माण गरी नागरिकको दैनिकी सजिलो बनाउँन भन्दा पनि ठेक्कापट्टामा नीतिगत भ्रष्ट्राचारमा रमाइरहेको उनले आरोप लगाए । पालिका र प्रदेश सरकारले लगाउने ठेक्कामा नै २०-२२ प्रतिशत फरक परेको बताउँदै उनले पालिका नितीगत भ्रष्टाचारमा लागेको बताएका हुन् । एक कल फोन गरेको भरमा पाँच–दश लाखको योजना पर्नुपर्ने बेलामा छाक काटेर भएपनि आफ्नो लागि बाटो बनाउन स्थानीय आफैं लागिपरेर सबैलाई उदाहरण प्रस्तुत गरेको मुक्तानको भनाई छ । उनले अब पालिका, प्रदेश र संघीय सरकारसँग स्थानीयको अगुवाईमा बनेको यो बाटो व्यवस्थित र दिगोपनाका लागि आवश्यक बजेट उपलब्ध गराउँन माग गरे ।
स्थानीयले गत वैशाख १८ बाट काम सुरु गरी यही जेठ २० गतेसम्म बाटो खन्ने काम सकेका हुन् । नयाँ सडक खन्ने तथा ओपन ट्रयाक खुल्ला गरी निर्माण गरिएको बाटोसँग स्थानीयले विकास तथा समृद्घिको सपना जोडिएकाले यसमा आगामी दिनमा सबै तहका सरकारको सहयोग आवश्यक देखिएको छ ।