लागूऔषधको बढ्दो समस्या न्युनिकरण गर्न सांसदहरुको चासो

लोकखबर
२ असार २०८१, शनिबार ०६:०६

मकवानपुर । बागमती प्रदेशका जिल्लाहरुमा लागूअऔषधको समस्या बढ्दै गएकोप्रति बागमति प्रदेशसभा सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् । हेटौँडामा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै सांसदहरुले लागुऔषधको समस्यालाई एकै पटक समाधान भन्दा पनि न्यूनीकरण गर्दै लैजानुपर्नेमा जोड दिएक हुन् ।

जनपत्र मिडिया प्रालि हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा लागूऔषधका कारण समाजमा बढ्दै गएको समस्या, यसको समाधानमा सांसद र सरोकारवालाहरुको भूमिका विषयमा हेटौंडामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित सांसदहरु तथा सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् ।

लागूऔषधको विकराल समस्या बढ्दै गएकाले यसमा तीनै तहका सरकारहरु लाग्नुपर्ने कार्यक्रममा सहभागि बागमती प्रदेशको प्रदेश मामिला समितिका सांसदहरु र अरु विभिन्न समितिका सांसदहरुले बताएका छन् । कार्यक्रममा बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, प्रदेशसभाका सदस्यहरु भारती कुमारी पाठक, गिरबहादुर तामाङ, कृष्ण प्रसाद सिलवाल, उर्मिला सुनुवार, बिन्दु श्रेष्ठ, शिवराज अधिकारी, हरि प्रभा खड्गी, हरि सापकोटा, प्रेम भक्त महर्जन, बालकुमारी विश्वकर्मा लगायतले यस विषयलाई अब प्रदेशसभामा आफुहरुले जोडतोडका साथ उठाउने बताए ।

हरेक क्षेत्रमा सरकारले बजेट विनियोजन गर्ने तर, लागूऔषध प्रयोगकर्ताहरुलाई न्यूनीकरण गर्न, यसको ओसारपसारलाई न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले कम चासो राखेको उनीहरुले बताए । तीन तहका सरकारले अझ बागमती प्रदेश सरकारले उद्योगी व्यावसायीहरुका भवन निर्माण गर्नका लागि लाखौँ बजेट विनियोजन गर्ने तर, लागूऔषध प्रयोग गर्ने र यसको रोकथामका लागि बजेट नछुट्याइको प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले बताए । विद्यालय नर्सहरुले नसक्दाको अवस्थामा पूर्व लागु औषध प्रयोगकर्ताहरुको अनुभव, अनुभुतिलाई पनि ग्रहण गर्न सकिने उनले बताए ।

बागमती प्रदेशसभाका सदस्य भारती पाठकले लागु औषध विरुद्धको अभियामा सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनचेतना रहेको बताईन् । बागमती प्रदेशसभाका अर्का सदस्य गिरीबहादुर तामाङले व्यक्तिमा नैतिक शिक्षा, समाजिक शिक्षाको कमीले गर्दा लागु औषधको प्रयोग बढेको बताए । मासिक त्रैमासिका रुपमा लागु औषध विरुद्ध विभिन्न कार्यक्रम गर्नु जरुरी रहेको उनले बताए ।

बागमती प्रदेशसभाका अर्का सदस्य हरिप्रभा खड्कीले प्रेम विवाह, पारिवारीक विचलनको कारण लागु औषधको प्रयोग गर्ने आदत बस्ने गरेको बताए । यसको नियन्त्रणको लागि कडा भन्दा कडा कानून बनाइनु पर्नेमा उनले जोड दिए । बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइले युुवा जमातमा लागु औषध दुव्र्यसनीको सवाल भयावह बन्दै आएको बताए ।

कार्यक्रममा नेपाल चिकित्सकसंघ मकवानपुरका अध्यक्ष डाक्टर हरि खड्काले पछिल्लो समय डाक्टरले उपारमा चासो दिन थालेको बताए । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा पनि पछिल्लो समय लागु औषध प्रयोगपछि मानसिक अवस्थामा समस्या भएकाहरुलाई छुट्टै उपचार कक्षको व्यवस्था गरिएको बताए ।

कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, नेपाल चिकित्सक संघ मकवानपुरका अध्यक्ष डाक्टर हरि बहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर र चितवनका विभिन्न संघसंस्था, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधहरु समेत गरेर ९१ जनाको उपस्थिती रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*