हेटौंडा ७ का महिलालाई जनै बनाउने तालिम
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का एकल तथा विपन्न महिलाले जनै बनाउने शीप सिकेका छन् । वडा कार्यालयको आर्थिक सहयोगमा पहिलो पाइला नामक संस्थाबाट हेटौंडा ७, नागस्वतीमा एक हप्तासम्म सञ्चालित तालिममा सहभागी बनी उनीहरुले जनै बनाउन सिकेका हुन् ।
हिन्दु धर्माबलम्बीले लगाउने जनै बाहिरबाट आयात गर्नुपर्ने अवस्थामा स्थानीय महिलालाई तालिम प्रदान गर्दै जनैको आवश्यकता परिपूर्ति गराउँन तथा वडाका एकल तथा विपन्न महिलालाई स्वरोजगार बनाउन वडा कार्यालयले तालिमका लागि बजेट व्यवस्थापन गरेको हो ।
गत २७ जेठबाट सुरु भई १ असार आज शनिबार सकिएको तालिममा वडाका २५ जना महिलाको सहभागिता थियो । एक हप्तासम्म तालिममा सिकेको शीपलाई व्यवहारमा उतार्दै आगामी दिनमा जनै बनाउन सक्रिय रहने तालिमका सहभागीहरुको भनाई छ । तालिममा संयोजकको भूमिका निर्वाह गरेकी सम्झना खनालले यस तालिम बेरोजगार महिलाहरुलाई स्वरोजगारीको अवस्था सिर्जना गर्नका लागि उपयोगी हुने बताइन् । ‘तालिममा सहभागीहरुले आफूले सिकेको शीप अनुसार अब जनै बनाउनु हुनेछ । स्थानीय तथा आवश्यकता अनसार बाहिर पनि विक्री वितरणका लागि पठाइनेछ ।’ खनालले भनिन्,‘ खाली हात बाँधेर बस्नुुभन्दा आफ्नो शीपको प्रयोगबाट आम्दानी हुनुु निकै खुशीको कुरो हो ।’ हिन्दुधर्ममा आस्था राख्नेहरुका लागि जनै चाहिने भएकाले महिलाहरुले सिकेको शीप कहिल्यै खेर नजाने उनको भनाई छ ।
वडा कार्यालयले एकल महिलालाई लक्षित गरी तालिम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरेर निकै प्रशंसनीय काम गरेको खनालले बताइन् ।
तालिम सञ्चालक संस्था पहिलो पाइलाका अध्यक्ष शोभा खतिवडाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो ।
तालिम समापनमा बोल्दै वडाअध्यक्ष गौतमले वडाका एकल तथा विपन्न महिलालाई स्वरोजगारीको अवस्था सिर्जना गर्ने सवालमा आफूहरु सदैव लागिपरेको बताए । आगामी दिनमा पनि यस्ता खालका तालिम तथा कार्यक्रममा वडा कार्यालयले सहयोग गर्ने गौतमले प्रतिबद्धता व्यक्त गरे ।
जनै बनाउने तालिमको प्रशिक्षकमा रुपा तिमल्सिना र बेली दुलाल रहेका थिए ।












































