हेटौँडा उपमहानगरपालिकाको आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम पारित
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आईतबार बिहान पारित भएको छ । आइतबार बिहान हेटौँडा उपमहानगरपालिकाको नगर सभा १५ औँ अधिवेशनमा नगरप्रमुख मीना कुमारी लामाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् ।
रोजगार बैंक तयार पार्ने, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने, विद्यालयमा सुनौलो शुक्रबार कार्यक्रम, शिक्षक बैंकको व्यवस्था गर्ने, तामाङ तथा नेपाल भाषाको प्रवर्द्धन गर्न स्थानीय पाठ्यक्रमका रुपमा विद्यालय तहमा पठनपाठनका लागि आवश्यक व्यवस्था मिलाइने नीतिमा उल्लेख छ ।
नगरले विपन्न तथा गरिब परिवारलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई महत्व दिँदै मेयर हिट कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । एक वडा, एक बालमैत्री पार्क, उज्यालो र सुरक्षित सहर, नियमित मर्मत सम्भार–दिगो पूर्वाधारको आधार जस्ता नारासहित नीति तथा कार्यक्रममा विविध विषय समेटिएका छन् ।
जनतासँग मेयर स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, हटिया र पदमपोखरी आधारभूत अस्पताललाई स्वास्थ्य बीमा बोर्डमा आवद्ध गर्ने, नगरको सहयोगमा हेटौँडा अस्पतालमा निर्माणाधिन प्रसुती वार्ड सञ्चालनमा ल्याइने, खानेपानीमा दिइँदै आएको न्यूनतम् महसुल छुटको कार्यक्रम पुनरावलोकन गर्ने, युवामा स्वयमसेवा, सकारात्मक सोच, उद्यम प्रवर्द्धन तथा दुर्व्यसन नियन्त्रणसम्बन्धी परामर्श तथा क्षमताम विकासका कार्यक्रममार्फत युवा सशक्तीकरण गर्न युवासँग उपमेयर कार्यक्रम सञ्चालन गरिने लगायतका नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।