राहत र उद्वारलाई प्राथमिकतामा राख्ने गृहमन्त्रीको प्रतिवद्धता
मकवानपुर । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ताप्लेजुङमा बाढी पहिरोले पुराएको क्षतिका विषयमा चिन्ता व्यक्त गर्दै राहत र उद्धार कार्यलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् । गृहमन्त्री समक्ष ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सांसदहरुले हालै आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे ध्यानाकर्षण गराएपछि त्यस विषयमा गृहमन्त्री लामिछानेले थप चासो देखाएका हुन् ।
प्रतिनिधिसभाका सदस्यहरु योगेश भट्टराई, उर्मिला थेबे, लीलादेवी बोखिम (लिम्बू) ले आज उपप्रधानमन्त्रीलाई भेटेर जिल्लाका दर्जनौँ घरमा भएको क्षतिले सयौँको सङ्ख्यामा मानिस विस्थापित भएको तथा पक्की, झोलुङ्गे र काठे पुल तथा सडकमा भएको क्षतिले यातायातका साधन सञ्चालन हुन नसक्ने गरी विभिन्न स्थानमा आवतजावत तथा यातायात समेत अवरुद्ध भएको अवगत गराएका थिए ।
भेटमा गृहमन्त्री लामिछानेले ताप्लेजुङमा परेको विपत्तिबारेमा आफू जानकार रहेको र राहत, उद्धार र पुनः निर्माणलाई उच्च प्राथमिकतामा राखी स्थानीय तह, प्रदेश सरकार, सङ्घका सरकारी कार्यालयसँगको समन्वय र सहकार्यमा सबै कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।