हेटौँडामा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी गोष्ठी सम्पन्न

लोकखबर
६ असार २०८१, बुधबार १०:१९

मकवानपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजना र मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा एक दिवशीय प्रदेश स्तरीय खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका कार्यालय प्रमुख काशिनाथ घिमिरेले कार्यालयको गतिविधिबारे जानकारी गराएका थिए । साथै उक्त कार्यालयका खाद्य अनुसन्धान अधिकृत प्रगति अधिकारीले उद्योग दर्ता, नविकरण तथा अनुमतिका कानूनी प्रावधानलगायतको विषयमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले आवश्यकता भन्दा बाहेकका चाहना पूरा गर्न अरुलाई असर पर्ने काम गर्न नहुने, सिमापारबाट आउने खाद्य सामानहरुको गुणस्तर यकिन हुनुपर्ने र त्यसका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले स्पष्ट गर्नुपर्ने बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुणस्तरयुक्त भनेको चिज पछि गुणस्तरहिन ठहरिएको बिगतमा पाएको बताउँदै गुणस्तरले अन्तराष्ट्रिय बजारमा हाम्रो देशप्रतिको धारणा निर्माण हुनेभएकाले सजग रहनुपर्नेमा उनले जोड दिए । कानूनलाई सेवा पुग्नेगरी कार्यालयका काम परिलक्षित रहनुपर्ने उनको भनाइ थियो ।

हेटौंडा उपमहानगरपालिका कार्यालयका अधिकृत हिम प्रसाद पौडेलले लघु उद्योगलाई अनुज्ञापत्र सहज गर्नुपर्ने बताए । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पालिकाहरुसँग सहकार्य गरी नियमन गर्नुपर्नेमा जोड दिए । साथै उनले कारवाहीका नतिजा सार्वजनिक गर्नुपर्ने, नया“ बनेको खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले सरोकारवाला निकायहरुसंग सहकार्य गर्ने बारे स्पष्ट व्यवस्था नगरेको, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमनको प्रभावकारिता बढाउनुपर्ने लगायतका विषयमा बताएका थिए ।

हेटौंडा उपमहानगरपालिका कार्यालयका सामाजिक विकास महाशाखा प्रमुख भिम प्रसाद तिमल्सिनाले स्थानीय, प्रदेश र केन्द्रका बीचमा अन्तरसम्बन्ध स्थापित गर्ने प्रावधान ऐनमा रहेको र ऐनले स्पष्ट नगरेका कुराहरु नियमावली आएपछि थप स्पष्ट हुनेमा आश्वस्ता पारे । गुणस्तर सम्बन्धी मिथ्या हल्लाहरुलाई सम्बन्धित निकायले चिर्नुपर्ने बताउँदै उनले खाद्य बस्तुको स्वच्छता र गुणस्तर कायम गर्न विषयविज्ञ निकायहरुले आफ्नो भूमिका निभाउनुपर्नेमा जोड दिए ।

उपभोक्ता मञ्च नेपालका बागमती प्रदेश संयोजक कुमार पौडेलले खाद्य गुणस्तर सम्बन्धमा उपभोक्तालाई सचेत गराउन सकेमा उत्पादक स्वतः सतर्क हुने बताए । उद्योग संघ मकवानपुुरका अध्यक्ष बद्रीनाथ शर्माले छिमेकी मुलुकका दुध, तरकारी जस्ता सामानहरुको गुणस्तरबारे राज्यसँग भर नपरी उपभोक्ता स्वयम् सचेत रहनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दहालले निजी क्षेत्रले आचारसंहिता बनाइ नियमन गर्न आवश्यक रहेको बताए । त्यस्तै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले मउवासंघले उद्योगी व्यवसायी तथा सर्वसाधारणलाई सचेत गराउ“दै विभिन्न सरकारी निकायहरुका अनुगमनमा सहकार्य गर्दै आएको दाबी गरे । उद्योगी व्यवसायीले कतिपय समयमा अनभिज्ञताको कारण प्राविधिक विषयहरुमा समस्या झेल्नुपरेकाले सर्वप्रथम नियमबारे सुसूचित गर्नुपर्ने र नक्कली चामल बिक्री गरेको झुटो आरोपमा व्यवसायीले ४–५ दिन जेल बस्नुपरेको घटनाले पीडित व्यवसायीको मनोदशा बिग्रिएको बताए । साथै आयातमा दश प्रतिशत अग्रिम आयकर बुझाउनुपर्ने पछिल्लो प्रावधान गलत भएको उनले दाबी गरे ।

उद्योग तथा वाणिज्य कार्यालय हेटौंडाका प्रमुख रामप्रसाद भुषालले अनुगमनको दायरा अनुरुप सरोकारवाला निकायहरुसँग सहकार्यमा काम गर्नेगरेको बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाका प्रमुख काशिनाथ घिमिरेले ऐनका प्रावधान निर्माणमा कार्यालयको भूमिका नहुने खाली कार्यान्वयनको जिम्मेवारी मात्र रहने बताए । बजार अनुगमन गर्दा सम्बन्धित पालिकाको प्रतिनिधिलाई समेट्ने गरिएको र प्रयोग गरिएको बस्तु, प्रविधि र प्याकेजिङको आधारमा खाद्य बस्तुको म्याद फरकफरक निर्धारण हुनसक्ने उनले बताए । अनुसन्धानमा गोप्य राख्नुपर्ने बाहेकका क्रियाकलापहरुको त्रैमासिक समिक्षा सार्वजनिक गर्ने पनि उनले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका कार्यालय प्रमुख तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत काशिनाथ घिमिरेको अध्यक्षता, उद्योग तथा वाणिज्य कार्यालय हेटौंडाका प्रमुख राम प्रसाद भुषालको प्रमुख आतिथ्यता, जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेको विशिष्ट आतिथ्यता र मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्तालगायतको आतिथ्यता, विभिन्न कार्यालय तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारहरु र उद्योगी, व्यवसायीहरुको सहभागितामा कार्यक्रम भएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*