‘हेटौँडा १४ का सुकबहादुरको हत्या भयो’–सांसद महेश कुमार बर्तौला
मकवानपुर । मकवानपुरका सांसद महेश कुमार बर्तौलाले हेटौँडा १४ का सुकबहादुर तितुङको हत्या भएको बताएका छन् । आज प्रतिनिधि सभा बैठकको आकश्मिक समयमा बोल्दै सांसद बर्तौलाले सुकबहादुरलाई पर्सा बन्यजन्तु आरक्षका सुरक्षाकर्मीले छातिमा गोली ठोकेर हत्या गरेको आरोप लगाएका हुन् ।
केही दिन अघि सुकबहादुरलाई शिकारी भएको भन्दै शिकारीहरुसँगको मुठभेडका क्रममा गोली लागेर मृत्यू भएको मध्यवर्ती क्षेत्र पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीहरुले दाबी गरेका थिए । तर उनको मुठभेडका क्रममा नभई पर्सा वन्यजन्तु आरक्षका सेनाले दिनदहाडै गोली ठोकेर हत्या गरेको सांसद बर्तौलाले दाबी गरेका हुन् ।
सुकबहादुरको घर जंगलसँगै जोडिएको भन्दै सांसद बर्तौलाले सुकबहादुरलाई आरक्षका वार्डेन सहितको अन्य सेनाहरुको आदेशमा हत्या गरिएको बताए । उनले अपराधी सबैलाई कारवाही गर्न पनि माग गरेका छन् । जंगल जोगाउन लागेका स्थानीयहरुलाई सेनाहरुले बेलाबेलामा दुःख दिने र समातेर जेल हाल्ने गरेको भन्दै उनले त्यस्तो कार्यको भत्सर्ना समेत गरेका छन् ।











































