आज संसद दिवस मनाईदै
मकवानपुर । आज नेपालमा विविध कार्यक्रमको आयोजना गरी संसद दिवस मनाईँदैछ । देशमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसदको पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद दिवसका रूपमा मनाउन थालिएको हो ।
संसद स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना भएका छन् । पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उनी २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील थिए ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भङ्ग भएको थियो ।











































