हेटौँडाको केही स्थान डुबानमा

लोकखबर
२३ असार २०८१, शनिबार १७:३४

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाका केही स्थानमा गत वर्षहरु जस्तै डुबानको समस्या देखिएको छ । विशेषगरी हरेक वर्ष डुबानमा पर्ने गरेको हेटौँडा ५ का केही क्षेत्र यस वर्ष पनि डुबानमा परेको छ ।

हरेक वर्ष झैँ यस वर्ष पनि वडा नम्बर ५ शान्ति नगरको बस्ती डुबानको चपेटामा परेका छन् । यस क्षेत्रमा २० वटाभन्दा बढी घरहरु डुबानमा परेका छन् । त्यस्तै हरेक वर्ष डुबानको समस्या झेलिरहेको वडा नम्बर ५ सानो पोखरा राई टोल आसपासका क्षेत्रहरुमा पनि डुबानको त्रास बढेको छ । तर अहिले केही समयदेखि पानी पर्न रोकिएकोले थप जोखिम ननिम्तिने स्थानीयहरुले आसा गरेका छन् । यता शान्ति नगर क्षेत्रमा भने स्थानीयहरुलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आएको बताइएको छ ।

त्यस्तै हेटौंडा ५ स्थित लक्ष्मिनारायण मन्दिर हुँदै चिसापानी पिप्ले आवतजावत गर्ने भित्री टोल समेत डुबानमा परेको स्थानीय लवराज ठकुरीले जानकारी दिएका छन् ।

अविरल वर्षाका कारण हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोल राप्ति किनारमा अवस्थित होलसेल तरकारी पसलहरु पनि आंशिक रुपमा डुबानमा परेका छन् । डुबानबाट हालसम्म कुनै मानवीय क्षति भने भएको छैन ।

त्यस्तै हेटौँडा ५ भैरव क्षेत्रमा पनि सडक आसपासका क्षेत्रहरु डुबानमा परेका छन् । बाटोभरि पानी भएकोले आवतजावतमा पनि कठिन भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*