हेटौँडा ८ मा चोरको बिगबिगी, दिउँसै चोरी

लोकखबर
२५ असार २०८१, सोमबार १३:२४

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ मनकामना टोलमा दिनदहाडै चोरीका घटनाहरु भएका छन् । स्थानीयहरुका अनुसार त्यहाँ दिउँसै केही व्यक्तिहरुको समूहले मकै घारीको आडमा चोरी गरेका हुन् ।

चोरीका घटनाबारे जानकारी दिँदै हेटौँडा ८ मा रहेको मनकामना (ख) टोल विकास संस्थाले स्थानीयहरुलाई सचेत रहन सामाजिक सञ्जालबाट सूचना समेत दिएको छ । संस्थाका अनुसार मकैघारीमा लुक्न र भाग्न सजिलो भएकोले चोरहरुले सजिलै चोरी गरेर भाग्न सफल भएका छन् ।

संस्थाले केही चोरीका घटनाहरुबारे पनि जानकारी दिएको छ । असार १९ गते दिउँसो २ बजेको समयमा त्यहाँस्थित मनकामना मन्दिर पश्चिमतर्फ चौलागाईको घर झ्यालको ग्रील फोरेर घर भित्र पसेर दराजबाट करिब ५ तोला सुन र १२ हजार नगद चोरी भएको संस्थाले जनाएको छ । सिसिटीभी फुटेजका अनुसार ४ जना हेटौँडाभन्दा बाहिरका जस्ता देखिने व्यक्तिहरुले
योजनासहित प्रहरी र मानिसको आवतजावतलाई समेत ध्यानमा राखी चोरिएको देखिएको संस्थाले जनाएको छ । उनीहरुले कसैले प्रहरी हेर्ने, कसैले मानिसको चहलपहल हेर्ने र अन्यले भने चोरी गर्ने गरेको बताइएको छ । उनीहरुले चोरीमा मोटर साईकल र ताला फोड्ने औजारहरु समेत प्रयोग गरेका छन् ।

त्यस्तै असार २२ गते राति करिब २ बजे मनकामना (ख) टोल फारलाईन सडक खण्ड नगर विकासमा मुरारी काफ्लेको घर पसल अगाडिबाट चोरहरुले ढोका फोर्ने प्रयास गरेका थिए । ढोका फोर्न नसकेपछि गोठमा राखिएको भर्याङको प्रयोग गरी पहिलो तलामा प्रवेश गरी ढोका फोरी तल गएर मान्छे सुतिरहेको अवस्थामा करिब ३ हजार नगद र एउटा मोबाइल चोरेर लगेको संस्थाले जनाएको छ । त्यस क्रममा घरको मान्छे बिउँझिएर हल्लाखल्ला गरेपछि चोर पछाडि ढोकाबाट मकै बारि तर्फ भागेको टोल विकास संस्थाले जनाएको छ ।

त्यस्तै असार २२ गते नै राति करिब २ः३० बजे फारलाईन सडक खण्डबाट ४० मिटर उत्तरतर्फ नगर विकासमा प्रकाश उपाध्यायको घरमा गेटभित्र राखिएको रातो रङको स्कुटर पनि चोरी भएको संस्थाले जनाएको छ । चोरहरुले पछाडि मकैबारी हुँदै कम्पाउन्ड वालबाट भित्र प्रवेश गरी लक गरेर राखिएको स्कुटर चोरी गर्नुका साथै बाहिरबाट खानेपानीको मिटर समेत चोरेर लगेको बताएइएको छ ।

यस बारेमा स्थानीयले प्रहरीलाई जानकारी दिनुका साथै गस्ती समेत सुरु गरिएको बताइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*