मुसलधारे वर्षापछि हेटौँडा जलमग्न

मकवानपुर । आज बिहानैदेखि वर्षिएको अविरल वर्षाले हेटौँडाका विभिन्न क्षेत्रहरु जलमग्न भएका छन् । केही दिनअघि मात्रै पनि हेटौँडा उपमहानगरपालिकाका केही क्षेत्रहरु डुबानमा समेत परेका थिए । त्यो घटना सेलाउन नपाउँदै अहिले पनि पूनः शोही समस्या दोहोरिने अवस्था देखिएको छ ।
लगातार परेको वर्षाले हेटौँडा उपमहानगरपालिकाका प्राय सडकहरुमा पानीको भेल बगेको छ । हेटौँडा बसपार्कमा पानीको उचित निकास नहुँदा बसपार्क क्षेत्रमा पसल कवलभित्र छिर्ने गरी पानी जमेको छ ।
केही दिनअघि मात्रै डुबानमा परेको हेटौँडा ५ शान्ति नगर, पिप्ले, सानोपोखरा लगायतका क्षेत्रमा फेरि पनि डुबानको समस्या देखिएको छ । वर्षाका कारण हेटौँडा २ सिँचाई टोल क्षेत्र पनि प्रभावित भएको छ । हेटौँडाका अधिकांश क्षेत्रमा पानीको भेल बगिरहेको छ । पानी पर्न नरोकिएमा यस क्षेत्रका धेरै क्षेत्रहरु डुबानमा पर्ने देखिएको छ ।