बाढी पहिरोका कारण हालसम्म १०८ जनाको मृत्यु

लोकखबर
२०८१ असार ३१, सोमबार ०६:५३

मकवानपुर । देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण हालसम्म १ सय ८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायत विपदमा परी आइतबार दिउँसोसम्म १०८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा आठ जना रहेका छन् ।

यस्तै, उक्त घटनामा परेर १ सय १९ जना घाइते भएका छन् । घाइते हुनेमा काठमाडौँ उपत्यकामा आठ जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा नौ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन् ।

बाढी पहिरोमा परेका ५३ जनाको उद्धार गरिएको र छ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेको बताइएको छ । ५ सय १६ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार पाँच सय ५२ घर परिवार विस्थापित भएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको