सिडिओलाई राप्रपा मकवानपुरको ज्ञापनपत्र
मकवानपुर । राप्रपा मकवानपुरले नागरिक सरोकार सम्बन्धि विभिन्न समस्या समाधानमा पहल गर्नका लागि अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ ।
राप्रपाको टोलीले बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालसमक्ष नागरिक सरोकारका विभिन्न माग सम्बोधनमा सहजीकरण गर्न तीन बुँदे ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा मकवानपुरमा फैलिएको रेबिज रोग नियन्त्रण र बैंकिङ्ग क्षेत्रको नियमनका विषयमा ध्यानाकर्षण गराइएको छ ।
ज्ञापनपत्रमा मकवानपुरमा रेबिज लागेको कुकुरहरुको उचित व्यवस्थापन नहुँदा टोकाईको कारण जनजीवन प्रभावित भएको र उक्त स्थितिलाई तत्काल नियन्त्रण गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको विषयमा ऋणीहरुको घर, व्यवसायमा मानसिक यातना पुग्ने गरी तनाव दिने प्रवृत्ति रोक्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहहरु , बिमा कम्पनीहरु, धितो मूल्यांकन र ईन्जिनियरिङ कन्सलटेन्सिहरुको मिलेमतोमा धितो मूूल्यांकन चलनचल्ति भन्दा कम राख्ने, रोक्का भएको स्वीकृत कर्जा प्रवाह नगर्ने र अनुचित लाभ लिने मनसायले कर्जा प्रक्रियामा दुःख दिने आदि विषयमा नियम बमोजिम गर्न गराउन र नियम बमोजिम दण्ड सजायको समेत सहजीकरण अबिलम्ब सम्बन्धित निकायबाट गर्न गराउने प्रबन्ध मिलाउनुपर्ने उल्लेख छ ।
राप्रपा बागमती प्रदेश सचिव गुञ्जनबहादुर न्यौपाने , बागमति प्रदेश सदस्य नवराज थपलिया, जिल्ला उपाध्यक्ष अर्जुन प्रसाद गौतम, जिल्ला सह(कोषाध्यक्ष सन्दीप कुमार सापकोटा, क्षेत्रिय सचिव विकास दुलाल, युवामोर्चा अध्यक्ष विवेक बिक्रम शाह , हेटौंडा नगर अध्यक्ष अरुण लामा लगायत प्रतिनिधीको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।











































