बागमतीमा सरकारका लागि साउन ८ गते बेलुका ५ बजेसम्म दाबी गर्नुपर्ने

मकवानपुर । अल्पमतमा परेका बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजिनामा दिएपछि नयाँ सरकार गठनका लागि आव्हान गरिएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरेका छन् ।
प्रमुख शर्माले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको आह्वान गरेका हुन् ।
नयाँ राजनीतिक समीकरण अनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले दिउँसो प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाएका थिए।
प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गरी अर्को सरकार गठन नहुञ्जेलसम्म उनलाई कामचलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
बागमतीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी छ । लामालाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्तका लागि दाबी पेस तयारी भएको हो ।
प्रदेश प्रमुखले सरकार गठनका लागि आव्हान गरिसकेकाले बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा कांग्रेस नेता लामाले दाबी पेस गर्ने बताइएको छ ।