बागमतीमा मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिं लामाको दाबी

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) ले दावी पेस गरेका छन् ।
मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष लामाले एमालेका २७ र कांग्रेसका ३७ गरी ६४ संसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलिया लगायतको उपस्थितिमा लामाले दावी पेस गरेका हुन् ।
मंगलबार साँझ ५ बजेपछि लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रदेश प्रमुख शर्माको तयारी छ । नुवाकोटका लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
माओवादीबाट निर्वाचित मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।
सरकारमा सहभागिताका विषयमा गठबन्धनका दुई दलबीच कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको बताइएको छ ।
सरकारमा जाने मन्त्रीको नाम कांग्रेस–एमालेले लगभग टुंगो लगाइसकेको चर्चा छ । कांग्रेसबाट जाने नामहरु बाहिर सार्वजनिक भएका छैनन् भने एमालेबाट भने ६ जनाको नाम बाहिर आएको छ ।
एमालेबाट काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापामगर, चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङ मन्त्री बन्ने चर्चा छ । यसमा प्रकाश श्रेष्ठबाहेक सबै नयाँ नाम हुन् । प्रकाश यसअघि उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बनेका थिए ।
बागमतीमा प्रदेशसभामा ११० जना सांसद रहेका छन् । सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । गठबन्धनका कांग्रेस र एमाले मिल्दा सरकार गठनका लागि अरु दलको समर्थन आवश्यक पर्दैन । प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।
बागमतीमा नेपाली कांग्रेस र नेकपा एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
केन्द्रीय गठबन्धनको सहमती अनुसार बागमतीमा पहिलो चरणमा सरकारको नेतृत्व कांग्रेसले पाएको छ ।
प्रदेशसभाको बाँकी कार्यकालमा आधा-आधा अवधि यी दुवै दलले बाँडेर सरकारको नेतृत्व गर्ने मंगलबार कांग्रेस र एमाले नेताहरुबीच सहमती भएको छ ।
पहिलो पटक कांग्रेसले २० महिना र यसपछि एमालेबीच बाँकी २० महिना सरकारको नेतृत्व लिने सहमती भएको जनाइएको छ ।
दुई दलबीच भएको सहमती अनुसार बागमतीमा पहिलो चरणमा लामा मुख्यमन्त्री बनेपछि अर्को चरणमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्नेछन् ।
कांग्रेस–एमाले गठबन्धनमा लामा नेतृत्वको सरकारमा कांग्रेसले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालय कांग्रेसले लिने सहमती भएको बुझिएको छ ।
यस्तै, एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणीज्य, भूमी तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लिने सहमती भएको बताइएको छ ।