कांग्रेसको आन्तरिक लफडाबीच मुख्यमन्त्री र ९ मन्त्रीको शपथ
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामा र ९ जना मन्त्रीले शपथग्रण लिएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामा प्रदेशका पाँचौँ मुख्यमन्त्री हुन ।
नव नियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
सपथ लिनेमा नेकपा (एमाले) का ६ जना र नेपाली कांग्रेसका ३ जना मन्त्री रहेका छन् । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।
कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मधु कुमार श्रेष्ठले शपथ ग्रहण गरेका हुन । उनीहरूको मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन । प्रदेश सरकारमा मन्त्री र मन्त्रालय चयनको विषयमा कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । सपथको दिन बुधबार कांग्रेसले सरकारमा ६ मन्त्री पठाउने तयारी गरेपनि कांग्रेसको आन्तरिक किचलोका कारण अन्तिम समयमा रोकिएको थियो ।
मन्त्रीका लागि आकांक्षी बढेसँगै पार्टीभित्र असन्तुष्टि पनि चुलिएको हो । बागमती सरकारमा सहभागिताको विषयमा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र प्रवक्ता प्रकाशशरण महतले सहमतीको प्रयास गरेपनि सार्थकता पाउन नसकेको बुझिएको छ । स्रोतका अनुसार सहमहामन्त्री डिना र महतले केहीलाई मन्त्री बन्नका लागि तयारी अवस्थामा रहन वचनै दिएपनि अन्तिममा उनीहरुले धोका खानुपरेको छ ।











































