मुख्यमन्त्री लामालाई विश्वासको मत

लोकखबर
१५ श्रावण २०८१, मंगलवार २०:००

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशसभामा विश्वासको मत पाएका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए ।

विश्वासको मतसम्बन्धी प्रस्तावमा भएको मतविभाजनका क्रममा मुख्यमन्त्री लामालाई ६४ मत प्राप्त भएको थियो भने विपक्षमा ३५ मत प्राप्त भएको थियो । तीन सांसद तटस्थ बसेका थिए ।

मुख्यमन्त्री लामा गत साउन ८ गते एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

वाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

मुख्यमन्त्रीले विश्वासको मत लिएसँगै सभामुख पाठकले प्रदेशसभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरेका छन् ।
प्रदेश सभाको दोस्रो कार्यकालको १९ महिनामा विश्वासको मत चौथो पटक लिइएको हो ।

यसअघिका मुख्यमन्त्री माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले सत्ता समीकरण फेरबदल भइरहेका कारण २५ पुस २०७९ यता मात्रै तीन पटक विश्वासको मत लिएर सरकार टिकाएका थिए ।

जम्कट्टेलल ३ माघ २०७९ मा पहिलोपटक १०५ जना सांसद, एमालेले सरकार छाडेपछि कांग्रेस, एकीकृत समाजवादीको समर्थनमा १० चैतमा दोस्रोपटक ६७ सांसद र कांग्रेसले सरकार छोडेपछि १९ चैत २०८० मा एमाले, एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टीसँगको समर्थनमा तेस्रोपटक ५६ सांसदको विश्वासको मत लिएका थिए ।

जम्कट्टेलले ६ साउनमा राजीनामा दिएसँगै एमालेको समर्थनमा नेपाली कांग्रेसको तर्फबाट लामा मुख्यमन्त्री बने । ८ साउनमा मुख्यमन्त्री नियुक्त भएका उनले ९ साउनमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिए । त्यसको दुई दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिए । प्रदेश मन्त्रिपरिषदमा कांग्रेसका मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ जना मन्त्री छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बाहेक १२ वटा मन्त्रालय रहेको बागमतीमा १३ मन्त्री छन् । मुख्यमन्त्री लामाले नेपाली कांग्रेसका विना विभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै रहने गरी जिम्मेवारी दिएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*