बागमतीमा साउन २५-३० सम्म लम्पी स्किन रोगविरुद्ध खोप
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी रुपमा खोप अभियान सुरु गरेको छ ।
कुनै ठोस उपचार नभएको लम्पी स्किन रोग न्युनिकरणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबारदेखि साउन ३० गतेसम्मका लागि प्रदेशका १३ वटै जिल्लामा खोप अभियान सुरु गरेको हो ।
यसवर्ष ७६ हजार २ सय ७५ वटा पशुमा भ्याक्सिन लगाउने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । गाईंभैसीमा यस रोग पश्चात उच्च ज्वरो आउने, शरीरका विभिन्न ठाउँमा र्गिखाहरु देखिने, जोर्नी र खुट्टाहरु सुन्निने र हिँड्न गार्हो हुने, थुनेलो देखिने, दुध उत्पादन ८० प्रतिशतसम्म घट्ने लगाएतका लक्षणहरु देखापर्ने हुन्छन् ।
अघिल्लो आर्थिक वर्षमा खोप अभियान मार्फत ४८ हजार ३ सय ६४ पशुलाई खोप लगाइएको थियो भने मकवानपुरमा ३१ हजार ६ सय ६ वटा पशुमा खोप लागाइएको थियो । यस रोगका कारण गतवर्ष ११ हजार २ सय १८ पशुको मृत्यु भएको थियो ।
वि.सं. २०७७ साल असारमा प्रथम पटक नेपालमा यो रोग प्रमाणित भएको र हालसम्म ७७ वटै जिल्लामा देखापरिसकेको बताइएको छ ।
यो रोगबाट ७५ अर्ब ४८ करोड सम्मको आर्थिक क्षति भएको अनुमान छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठका अनुसार यस रोगको नियन्त्रणबाट हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै पूर्व तयारीका रुपमा खोप अभियान सञ्चालन गरिएको हो । उनले किसानहरुको समस्या यस अभियानमार्फत केहिहदसम्म निराकरण हुने विश्वास व्यक्त गरे ।