विद्यार्थीलाई खाजाका लागि जनजागरणको आर्थिक सहयोग

राजकुमार के.सी.
३२ श्रावण २०८१, शुक्रबार २०:३४

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नं. २ स्थित घाटदेवी निमाविका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्थापन गर्न जनजागरण समाज, थाहा २ ले आर्थिक सहयोग गरेको छ । संस्थाले आफ्ना सदस्यहरुबाट संकलन गरेको ३४ हजार ८ सय ६० रुपैंया नगद शुक्रबार विद्यालयलाई हस्तान्तरण गरेको हो ।

वि.सं.२०७९ मा स्थापना भएको संस्थाका सदस्यहरुबाट संकलित रकम विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजा व्यवस्थापनका लागि सहयोग स्वरुप प्रदान गरिएको समाजका सहसंयोजक माधव कार्कीले बताए ।

विद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि नियमानुसार नगरपालिकाले निर्धारण गरेको बर्खे बिदाको समयमा पनि विद्यालय सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक दीपक कार्कीले सो अवसरमा बताए । उनले जनजागरण समाजले गरेको आर्थिक सहयोग विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा व्यवस्थापनका लागि महत्वपूर्ण हुने बताए ।

सरकारले कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि प्रति विद्यार्थी १५ रुपैंयाका दरले प्रत्येक वर्ष १ सय ८० दिन बराबरको रकम विद्यालयलाई उपलब्ध गराउँदै आएको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर तामाङले उक्त रकम पर्याप्त नहँुदाको अवस्थामा समाजबाट सहयोग पाउँदा खुशी लागेको बताए । विद्यालयले वार्षिक २ सय २० भन्दा बढी दिन बिद्यालय खुल्ने र उक्त दिन नियमित रुपमा विद्यार्थीहरुलाई खाजा खुवाउने समेत अध्यक्ष तामाङले बताए ।

रकम हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि थाहा नगरपालिका वडा नं. २ का अध्यक्ष बमबहादुर सिन्तानले सामुदायिक शिक्षाको गुणस्तर वृद्धिका लागि विद्यालयको मेहनत महत्वपूर्ण भएको बताए । उनले विद्यालयलाई जनजागरण समाजले गरेको सहयोगले शैक्षिक विकासमा सहयोगी हुने बताए ।

समाजको सकारात्मक विकासका लागि शैक्षिक जनशक्तिको महत्वपूर्ण भूमिका रहने समेत अध्यक्ष सिन्तानले बताए ।
कार्यक्रममा जागरण समाजका सहसंयोजक माधव कार्की, सचिव बिकेशबाबु बस्नेत, पालुङगढी संरक्षण समितिका अध्यक्ष अजय कार्की, पालुङ जेसीज बर्ष २०२४ का उपाध्यक्ष नारायण कार्की लगायत बिद्यालयका शिक्षक एवं विद्यार्थीको उपस्थिति थियो ।
विद्यालयमा बालविकास केन्द्रसहित कक्षा ८ सम्म १ सय २८ जना बिद्यार्थी अध्ययनरत छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*