बागमती सरकारको सय दिनमा के छ प्रगति ?
मकवानपुर । संघीय सरकार परिवर्तनपछि बागमती प्रदेश सरकारमा पनि ८ साउनमा कांग्रेस-एमाले गठबन्धनको नयाँ सरकार बन्यो । कांग्रेसका बहादुरसिं लामा नेतृत्वमा बनेको सरकारको प्रगतिमा भने खासै सन्तोष गर्ने ठाउँ नभएको पाइएको छ । सरकारले १०० दिनमा के कस्तो प्रगति भयो भन्नेमा प्रगति विवरण राखिएको भने पाइदैन ।
बागमतीमा ११० जना सांसद संख्या रहेकोमा ठूलो दल कांग्रेसको ३७ सिट र दोस्रो ठूलो दल नेकपा एमालेको २७ सिट रहेको छ । संघीय सरकारमाझैँ प्रदेशमा पनि शक्तिशाली रहेको सरकारको कार्य सम्पादन भने चित्तबुझ्दो देखिदैन ।
सरकारले १०० दिने आफ्नो प्रगति विवरणसम्म सार्वजनिक गरेको छैन । सरकार गठन भएको दुई महिनापछि ६ असोजमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएपनि त्यसमा के कस्ता प्रगति हासिल भए भन्ने बताइएको छैन । मुख्यमन्त्री सिं लामा र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले हस्ताक्षर गरेको ६७ बुँदे न्यूनतम साझा कार्यक्रमलाई हालसम्म मन्त्रिपरिषदले अनुमोदन वा स्वीकार गरेको छैन ।
प्रदेश सरकार असोज दोस्रो हप्तामा आएको विपद्मा प्रभावकारी कार्य गर्न चुकेको छ । अविरल वर्षापछिको बाढीपहिरोले बागमती प्रदेशमा सबैभन्दा धेरै जनधनको क्षति हुन पुगेको थियो । बागमतीको मकवानपुर, काभ्रे, सिन्धुली, धादिङ, काठमाडौं, ललितपुर जिल्लामा बढी क्षति भएको थियो । यो प्रदेशमा बाढीपहिरोले डेढ सयजना भन्दा बढीको ज्यान लिएको थियो ।
प्रदेश सरकारले असोज अन्तिममा बेठक बसी विपद् जोखिमयुक्त प्रदेशका ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको थियो । ७ वटा स्थानीय तहलाई २० लाख, १२ वटा स्थानीय तहलाई १५ लाख र २६ वटा स्थानीय तहलाई १० लाखका दरले रकम दिएको छ ।
सरकारको राजस्व संकलन कमजोर बन्दा आम्दानी खुम्चिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को असोजसम्म बागमती सरकारले ४ अर्ब ५३ करोड ८४ लाख ७९ हजार रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेकामा ८९ करोड ८४ लाख २ हजार रुपैयाँ मात्रै संकलन भएको पाइएको छ । कृषि आयतर्फ १० लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेको सरकारले तीन महिनामा ८ हजार रुपैयाँ मात्र उठाएको छ ।
संघीय सरकारबाट १५ अर्ब ५७ करोड ५६ लाख अनुदान पाउने अनुमान गरेकोमा २ अर्ब ६ करोड ८ लाख ५० हजार रुपैयाँ मात्रै पाएको थियो । सरकारले यो बीचमा बागमती प्रदेश लोक सेवा आयोग, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेतृत्व नियुक्त गरेको छ ।











































