सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

लोकखबर
२०८१ कार्तिक २०, मंगलवार १५:५९

मकवानपुर । मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मनहरी गाउँपालिका–९, खरंगा नजिकै पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जना सैनिक कर्मचारी घाइते भएका छन् । चितवनबाट हेटौंडातर्फ जाँदै गरेको मधेस प्रदेश–०३०३४ प २८९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

दुर्घटनामा घाइते हुनेहरुमा मोटरसाइकल चालक सल्यान बाघचौर नगरपालिका–४ डाँडा गाउँ निवासी २९ वर्षीय गणेश पुन र पछाडि बस्ने रुपन्देही बुटवल उपमहानगरपालिका–१३ बयलबास निवासी २८ वर्षीय निखिल पाण्डे रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । गणेशको शरीरका विभिन्न भागमा चोट लागेको छ भने निखिलको टाउको, हात र खुट्टामा चोट लागेको छ ।

घटना १९ कात्तिक साँझ ५ः३० बजे भएको र दुर्घटनामा घाइते भएका दुवैजना मध्यपूर्वी पृतना शिक्षालय, सर्लाही लालबन्दीमा तालिमरत लेस नायक रहेको प्रहरीको भनाई छ । दुर्घटनाको कारण मोटरसाइकल अनियन्त्रित भएको देखिएको छ । उनीहरुको चुरेहिल अस्पताल, हेटौंडामा सामान्य उपचारपछि सैनिक अस्पताल छाउनी,काठमाडौंमा थप उपचार भइरहेको छ ।

यस्तै, हेटौंडा उपमहानगरपालिका–८, कमानेस्थित मनकामना चोकमा भएको सवारी दुर्घटनामा चार वर्षीय बालक घाइते भएका छन् । ना ३५ प ६१०० नम्बरको स्कुटरले ठक्कर दिँदा प्रमिला के.सी.का छोरा आयन्स न्यौपाने घाइते भएको प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिएपछि कानबाट रगत बग्न थालेको र उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । प्राथमिक उपचारपछि थप उपचारका लागि बालकलाई भरतपुरको नयाँ मेडिकल कलेजमा रिफर गरिएको छ ।

स्कुटर चालक काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्ने ४५ वर्षीय शान्ति थापालाई स्कुटरसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उता, जिल्लाकै बागमती गाउँपालिका–४ बस्ने ४८ वर्षिया गंगा पहरीको स्कुटरको ठक्करबाट मृत्यु भएको छ । बकैया गाउँपालिका वडानम्बर–४ हरामिटोल स्थित मदन भण्डारी लोकमार्गमा हेटौडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा प्र ०३–००४प ७२७६ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेकी गंगालाई ठक्कर दिएको थियो । हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारको उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको