सकियो छठ

लोकखबर
२३ कार्तिक २०८१, शुक्रबार १०:३४

मकवानपुर । उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व सकिएको छ । मकवानपुरको हेटौंडास्थित राप्तीतटमा पनि धुमधामसँग छठ मनाइएको छ ।

छठ पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्तीको लोकआस्थासहित मनाइन्छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जानकारहरुको भनाई छ ।

यस पर्वमा पोखरी, नदी, तलाउ, जलाशयमा भक्तजनको बाक्लो उपस्थिती हुने गरेको छ । बर्तालुुले हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । अस्ताउँदो सूर्यको पूजा गरेका बर्तालुहरु नदी तथा तलाउ किनारमा बनाइएका छठस्थलमै नाचगानसहित जाग्राम बसेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । ब्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गरेका छन् ।

मिथिलाञ्चलसहित विशेष गरी मधेशमा उत्साहपूर्ण वातावरणमा मनाइने छठ महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी,मोरङ,सर्लाही, रौतहट, बारा,पर्सालगायत जिल्लामा धूमधामका साथ मनाइएको हो ।

चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन बर्तालुले नहा खा अर्थात् नुहाएर खाने गर्दछन् । यो दिन बर्तालुले जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन खर्ना मनाइन्छ । खर्नाका दिन बर्तालुले दिनभरि उपवास निराहार बसेर राती छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्छन् र राती अरवा अरबाईन (विनानुन हालेको) खानेकुरा खाने चलन छ ।

यस्तै, षष्ठीका दिन साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्ने गरिन्छ ।

षष्ठीका दिन बर्तालुहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् । त्यसको भोलिपल्ट अर्थात् एकाबिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गर्छन् ।

महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुईयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमहरुले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको संख्या ७० पुर्‍याउनुपर्छ तर चढाउने सामथ्र्य नभएकाहरु गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*