बकैयाका शिक्षकहरुको यस्तो प्रतिबद्धता
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा कार्यरत शिक्षकहरुले बालमैत्री विद्यालय र बालअधिकार संरक्षणका लागि कटिबद्ध रहने प्रतिबद्धता गरेका छन् ।
ग्लोबल मार्चको सहयोगमा बकैया गाउँ पालिका, स्वतन्त्रता अभियान र बाल कल्याण समाज मकवानपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा गाउँपालिका भित्रको विभिन्न विद्यालयका शिक्षक एवं शिक्षाकर्मी लक्षित कार्यक्रममा शनिबार शिक्षकले यस्तो प्रतिबद्धता जनाएका हुन् । गाउँपालिकाको २८ वटा विद्यालयका प्रअ, सहायक प्रअ तथा शिक्षक शिक्षिका एवं शिक्षाकर्मीको कार्यक्रममा सहभागिता थियो ।
सहभागी शिक्षकहरुले विद्यालयमा ड्रप आउट हुन नदिन, विद्यालय छाडेका बालबालिकालाई पुनःविद्यालयमा फर्काउन, विद्यालयको सेवाक्षेत्रभित्रका विद्यालय बाहिर रहेका बालबालिकालाई विशेष रुपमा विद्यालयमा ल्याउन उल्लेख्य भूमिका निर्वाह गर्दै विद्यालयलाई बालमैत्री बनाउन र बालबालिकाको संरक्षणको अधिकार सुनिश्चित गर्न कटिबद्ध रहने प्रतिबद्धता गरेका हुन् ।
गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष भक्तबहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, पालिका शिक्षा प्रमुख आईतराम तामाङ, पालिकाका रोजगार संयोजक रामचन्द्र खड्का, महिला विकास निरीक्षक एवं बाल कल्याण अधिकारी होमकुमारी संजेल, बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडा लगायतको उपस्थितीमा कार्यक्रम भएको हो ।
कार्यक्रममा गाउपालिकाका अध्यक्ष लामिछानेले विद्यालयको तथ्यांक हेर्दा ड्रप आउट बढ्दै गएको पाईएकोले विद्यालय बाहिर रहेको बालबालिका बालश्रममा जानसक्ने, तिनै बालिकाको बालविवाह हुन सक्ने, बालविवाह पश्चात् पुनः बालश्रम हुदै बाल ओसारपसार र बेचविखनको जोखिममा समेत पर्नसक्ने भएकाले विद्यालयमा हुने ड्रप आउट घटाउन र विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा ल्याउन विद्यालयका शिक्षक एवं व्यवस्थापन समितीलाई मिहिन ढंगले कृयाशील हुन आग्रह गरे ।
पालिकाको उपाध्यक्ष खत्रीले अभिभावक जिम्मेवार हुन नसकेको कारण कतिपय बालबालिका बालश्रम गर्न बाध्य हुन परेको बताए । उनले टोल विकासमार्फत अभिभावकलाई जिम्मेवार भूमिका निर्वाह गर्न सचेतना कार्यक्रमको आयोजना गर्ने योजना रहेको बताए । शिक्षकहरुले बालबालिकालाई विधालयमा टिकाउने र गुणस्तरिय शिक्षा सिकाउने कार्य गर्न उनको आग्रह छ ।
पालिकाको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले गाउँपालिकाकका शिक्षकहरुबाट बाल संरक्षणको लागि भावी कार्ययोजना तयार पारिएकोमा प्रशंसा गरे । उनले सार्वजनिक शिक्षाको सुदृढिकरण, विद्यालय छाड्ने दरमा कमी ल्याउन र गुणस्तरीय शिक्षाका लागि विद्यालयका शिक्षकलाई जिम्मेवार बन्न आग्रह गरे । विभिन्न विद्यालयबाट तयार कार्ययोजनालाई सफलता पूर्वक सम्पन्न गर्न पालिकाले सहकार्य गर्ने समेत उनले बताए ।
बाल कल्याणका अध्यक्ष खतिवडाले बालश्रम निवारणका लागि शिक्षकको भूमिकाका विषयमा सहजीकरण गर्दै बालश्रमको परिभाषा, बाध्यकारी श्रम, बालश्रमको कारण, बालश्रमको आर्थिक, सामाजिक, राजनैतिक असर, बालश्रम निवारणमा विद्यालय र शिक्षकको भूमिकाका बारेमा स्पष्ट पारेका थिए । शिक्षकलाई उत्साहित र जिम्मेवारी बहन गर्न अभिप्रेरित गर्दै परिणाममा आधारित उल्लेखनीय कार्य गर्ने शिक्षकलाई सम्मान गर्न स्थानीय सरकारले योजनाहरु ल्याउनुपर्नेमा जोड दिए । यो गरेको खण्डमा गुणस्तरिय शिक्षा कायम भई विद्यालय छाड्ने दरमा क्रमशः कमी आउने उनले बताए ।
पालिका शिक्षा प्रमुख तामाङले बालश्रम अन्त्य गर्न शिक्षकको भूमिका अहम् हुने भएकोले उनीहरुलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको बताए ।











































