बाघले मान्छे मारेपछि बसन्तपुरमा त्रास

लोकखबर
२०८१ पुष १५, सोमबार २०:०६

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-५, बसन्तपुरमा बाघले एकजना वृद्धाको ज्यान लिने तथा सात वटा बाख्रा मारेपछि त्यस गाउँका स्थानीय त्रासमा छन् । आइतबार साँझ त्यहाँ देखिएको बाघले आक्रमण गरी घाँस काट्न बारीको छेउमा गएकी ७२ वर्षीया कान्छीमाया रुम्बालाई मारेको थियो ।

मकवानपुर प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घाँस काट्न गएकी रुम्बा लामो समयसम्म पनि घर नफर्केपछि खोजी गर्दा उनको शव भेटिएको थियो । टाउको तथा तिघ्राको भागको मासु बाघले लुछेको अवस्थामा रुम्बाको शव भेटिएको थियो । घटनास्थल मनहरी गाउँपालिका-५ को कार्यालयबाट १ सय मिटर पश्चिमतर्फ पर्दछ ।

सोही बाघले सोमबार बिहान करिब ५ः३० बजे वसन्तपुरमै ७ वटा बाख्रा मारेको छ । स्थानीय सूर्यबहादुर मोक्तानको घर छेउको खोरमा राखिएको बाख्रा बाघले मारेको हो । मनहरी पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको रूपमा रहेको छ । वन्यजन्तुको आक्रमणका लागि उच्च मानव बस्ती जोखिममा रहेको छ । बाघलाई नियन्त्रणमा लिन स्थानीय, प्रहरी, पर्सा र चितवन राष्ट्रिय निकुञ्जको टोली हात्तीसहित घटनास्थलमा खटिएको छ ।

यस क्षेत्रमा हरेक वर्षजसो वन्यजन्तुको आक्रमणबाट स्थानीय आतंकित बन्दै आइरहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको