राक्सिराङको चैनपुरमा हाटबजार शुभारम्भ
मकवानपुर । मकवानपुरको राक्सिराङमा सोमबारबाट हाट बजार शुभारम्भ गरिएको छ । पालिकाको वडा नं ५ चैनपुरस्थित हाट बजार स्थलमा यस बर्षको पहिलो हाट बजार शुुभारम्भ गरिएको हो ।
राक्सिराङ गाउँपालिकाले हरेक महिनाको १ र १५ गते गरी महिनाको दुई दिन संचालन गर्ने हाट बजार बागमती प्रदेश सरकारका सहकारी तथा गरिवी निबारण मन्त्री मधुकुमार श्रेष्ठ हाट बजार शुभारम्भ गरे ।
हाटबजारमा होटलहरुका लागि छुटटै स्टल निर्माण गरिएको छ । राक्सिराङ गाउँपालिकामा उत्पादित मास, गहत, रायोको साग, मुला, सुन्तला, च्याउ, केरा, जंगली कन्दमूलहरु गिट्ठा, भ्याकुर, तरुल, बाँसबाट बनेका सामग्रीहरु हाटबजारमा बिक्री बितरणमा राखिएका थिए ।
हाट बजार शुभारम्भमा मन्त्री श्रेष्ठले राज्यले किनारा पारेका समुदायलाई मूलधारमा ल्याउने व्यवस्था भएका कारण सीमान्तकृत र जनजाति समुदायका मानिसहरु पनि राज्य सञ्चालनको बागडोर सम्हाल्ने अवस्थामा आइपुगेको बताए । राक्सिराङ गाउँपालिकाबाटै सन्तबहादुर चेपाङ मन्त्री बन्ने अवसर यही व्यवस्थाबाट पाइएको उनले धारणा राखे ।
आगामी दिनमा पछाडि पारिएका भूगोल, समुदाय तथा क्षेत्रको विकासका लागि आफू र आफू नेतृत्वमा रहेको मन्त्रालयले सदैव काम गर्ने उनले प्रतिबद्धता जनाए । स्थानीय कृषि उत्पादन वृद्धि गरी आर्थिक अवस्था सुधार गर्न सके समृद्ध देश, समृद्ध प्रदेश तथा समृद्ध पालिका निर्माण हुनेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।
हाटबजार उद्घाटन समारोहमा कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्ट, मकवानपुर उद्योग वाणीज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धरलगायतले शुभकामना मन्तब्य व्यक्त गरे । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बनस्तम थिङले स्वागत मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा चेपाङ, तामाङ तथा अन्य समुदायले आफ्ना पहिचानसहितका लोकसंगीत, संस्कृति र नृत्यहरु प्रस्तुत गरेका थिए ।











































