माघ ४ मा हेटौैँडा १८ बालमैत्री घोषणा हुने

लोकखबर
२९ पुष २०८१, सोमबार १८:५९

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको लागि आवश्यक तयारी पूरा भएको छ ।

यही माघ ४ मा वडालाई बालमैत्री घोषणा गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने आफूहरुको तयारी रहेको वडा सदस्य योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरू पूरा गर्न सफल भएकोले वडालाई बालश्रम मुक्त वडा घोषणा गर्न लागिएको हो ।

यो वडामा २०७९ को घरधुरी सर्वेक्षणमा १८ वर्ष मूनिका बालबालिका ३ हजार २ सय ७४ जना रहेका छन् । जसमा १ हजार ६ सय ९१ जना बालक र १ हजार ५ सय ८३ जना बालिका रहेका छन् ।

यसअघि यो वडा पूर्ण खोप, पूर्ण साक्षर, खुला दिशामुक्त वडा घोषणा भइसकेको छ । नेपाल सरकारले २०८७ सालसम्ममा सबै स्थानीय तहहरूलाई बालमैत्री स्थानीय तहको रूपमा घोषणा गर्ने लक्ष्य लिए अनुरूप हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाहरूले धमाधम बालश्रममुक्त वडा घोषणा गरिरहेका छन् । यसका साथै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा पूर्व सार्वजनिक सुनुवाइ कार्यक्रम पनि भइसकेको छ ।

पत्रकार सम्मेलनमा वडा सचिव महेश पुडासैनीले वडामा शैक्षिक क्षेत्रमा आवश्यक मात्रामा लगानी गरिएको बताए । बालमैत्री वडा घोषणा कार्यक्रम पूर्वका अभिमुखीकरण, शैक्षिक सुधार तथा विद्यार्थी प्रोत्साहन कार्यक्रम, शिक्षक तालिम, युवा तथा खेलकुद, विद्यालय मर्मत तथा सुधार लगायत कार्यक्रम गरिएको उनको भनाई छ । उनले यसका लागि ८७ लाख ८१ हजार १ सय ९० रुपैयाँ बजेट खर्च भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा वडा सदस्य तोयानाथ तिमल्सिना, बालमैत्री नगर सहजकर्ता सपना ढुंगाना, ज्योति माविका प्रधानाध्यापक हर्क रम्तेल, गोरक्ष माविका मीना श्रेष्ठ, कमला आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द उप्रेती,टोल विकास वडा समन्वय समिति अध्यक्ष विमला विशुंखे, महिला जागरण संस्था हर्नामाडीका अध्यक्ष तेजकुमारी न्यौपाने, विभिन्न टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि लगायतको उपस्थिति थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*