फागुन ५ देखि बागमती गोल्डकप

लोकखबर
२९ पुष २०८१, सोमबार १९:३२

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा आगामी फागुन ५ गतेदेखि १० गतेसम्म सातौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता २०८१ गर्ते तयारी गरिएको छ ।

बागमती गाउँपालिका खेलकुद विकास समितिले आयोजना गर्ने प्रतियोगिता बागमती -४ झुरझुरेस्थित शहिद स्मृति रंगशालामा हुने जनाइएको छ । यो रंगशाला बागमती गाउँपालिकाले आफ्नै लगानीमा निर्माण गरेको हो ।

गोल्डकपको यस अघिका संस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुदै आएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद १० लाख रुपैयाँ र दोस्रो हुने टिमले ५ लाख रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ए डिभिजन ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहनेछ ।

आयोजकका अनुसार प्रतियोगिताका लागि ७४ लाख ७३ हजार रुपैंया खर्च हुने अनुमान छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई दश हजार रुपैंयासहित प्रदान गरिनेछ ।

फुटबल खेलको विकासका लागि आफूहरुले निकट भविष्यमा फुटबल एकेडेमी सन्चालनमा ल्याउने तयारी गरेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*