सहिदहरुको बलिदानको मर्म बुझौँः प्रदेश प्रमुख

लोकखबर
१६ माघ २०८१, बुधबार २१:००

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहिद दिवस २०८१ को सन्दर्भमा सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले बुधबार परेको सहिद दिवसको अवसरमा एक सन्देश जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले इतिहासका विभिन्न कालखण्डमा देशको निम्ति आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको उल्लेख गरेका छन् । सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पार्न जिम्मेवारीपूर्वक आ-आफ्ना कर्तव्य पालन गर्नमा सबैलाई प्रेरणा मिलोस् भन्ने कामना प्रमुख देवकोटाको छ ।
उनले आफ्नो सन्देशमा भनेका छन्, ‘बर्षौं पहिले कसैले रोपेको बिरुवाले आज छहारी र शीतलता प्रदान गरेजस्तै देशको निम्ति जीवन उत्सर्ग गर्ने राष्ट्रप्रेमी मानवको बलिदानको परिणामले आज हामी सम्पूर्ण नेपाली स्वाधीन, स्वतन्त्र र स्वाभिमानी भएर अग्रगामी मार्गमा छौँ’ ।
सहिदहरूको त्याग, साहस र बलिदानको गौरवपूर्ण गाथाले देशलाई माया गर्न र आफ्नो कर्तव्यमा निष्ठापूर्वक लागिरहन हामीलाई हौसला मिल्ने कुरामा आफू विश्वस्त रहेको उनको भनाई छ ।
‘आजको यो महत्वपूर्ण दिनमा सम्पूर्ण राजनैतिक दल र आमनागरिक गम्भीर भई आत्मसमीक्षा गरेर देशको हितलाई सर्वोपरी राखी अघि बढेमा मात्र सहिदप्रति वास्तविक सम्मान हुनेछ’ सन्देशमा भनिएको छ । प्रमुखले संघीय लोकतान्त्रिक गणतन्त्रको यो उत्कृष्ट व्यवस्था तिनै महामानवका बलिदानको उपज भएको उल्लेख गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*