त्रिशूली क्याम्पसमा विद्यार्थीद्वारा तालाबन्दी

विदुर– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको एक दिन अगाडि अर्थात सोमवार नुवाकोटको त्रिशूलीस्थित त्रिभुवन त्रिशूली क्याम्पसमा विद्यार्थीहरुले तालावन्दी गरेका छन् । निर्वाचन समितिको राजीनामालगायतको माग गर्दै दुई विद्यार्थी संगठनले क्याम्पसको निर्वाचन समितिको कक्षमा तालावन्दी गरेका हुन् ।
संगठनको उपस्थिति विना एकतर्फी वैठक गरिएको सेटिङमा निर्वाचन गर्न खोजिएको, विद्यार्थी संगठनहरुलाई वाइपास गरिएकोलगायतका कारण देखाउंदै अनेरास्ववियु नुवाकोट र विप्लव नेतृत्वको अखिल समाजवादी नुवाकोटले निर्वाचन समितिको कार्यकक्षमा तालावन्दी गरेको हो । निर्वाचन समितिले राजीनामा दिएर नयां समिति चयन हुनुपर्ने, विद्यार्थी संगठनहरुसहितको सम्मानजनक र्वठक गरिनुपर्नेलगायतका माग राखी ताला लगाइएको अनेरास्ववियु नुवाकोटका अध्यक्ष फैसल दिनले जानकारी दिए ।
यससंगै एकसय ८० मतदाता रहेको त्रिशूली क्याम्पसमा मंगलवारको स्ववियु निर्वाचन अन्यौलमा परेको छ । विद्यार्थी संगठनहरुसंग नियमित वैठक वसेर सहमतिको प्रयास भइरहेको स्ववियु निर्वाचन समितिका संयोजक भानुभक्त न्यौपानेले जानकारी दिए ।
क्याम्पसमा स्ववियु निर्वाचनका लागि पांच विद्यार्थी संगठन दर्ता भएका थिए । चार विद्यार्थी संगठन कुनैले संयुक्त र कुनैले एकल प्यानल उम्मेदवारी दर्ता गरेका थिए ।