अवैध रुपमा पेट्रोलियम पदार्थ भण्डारण नगर्न चेतावनी
विदुर–अवैध रुपमा पेट्रोलियम पदार्थको खरिद, भण्डारण तथा विक्रि वितरण नगर्न नुवाकोट प्रशासनले सचेत गराएको छ । यस प्रकृतिको अवैध क्रियाकलाप गरे कारवाही गरिने जनाइएको छ ।
पछिल्लो समय काठमाडौंसंग जोडिएको नुवाकोटका शहरी तथा ग्रामीण भेगहरुमा रहेका कतिपय व्यवसायिक फर्महरु किराना, खाद्य, लत्ताकपडा, फलफूल तथा तरकारी, फार्मेसी, चमेना गृह, खुद्रा पसल र केही होटेल, रेष्टुरेन्ट, वर्कशप, घुम्ति पसलहरुले अवैध रुपमा पेट्रोलियम पदार्थको खरिद, भण्डारण तथा विक्रि वितरण गरेको पाइएकोले त्यसो नगर्न सूचित गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । यक्त स्थानहरुमा ड्रम, ग्यालेन, जर्किन, बोत्तललगायतका भाँडाहरुको प्रयोग गरी अति प्रज्वलनशील पेट्रोलियम पदार्थको अवैध विक्रिवितरण गरेको जानकारी प्राप्त भइरहेको कारण तत्काल नियन्त्रण गरि प्रचलित कानून बमोजिम तोकिएको निकायबाट अनुमति नलिई भएका त्यस्ता अवैध क्रियाकलापप्रति कार्यालयको गम्भिर ध्यानाकर्षण भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद होमागाइको भनाई छ ।
अतिप्रज्वलनशील पेट्रोलियम पदार्थको अवैध खरिद, अवैध भण्डारण तथा अवैध विक्रिवितरण गर्ने कार्य आगलागीजन्य विपद्का दृष्टिले अत्यन्त जोखिमयुक्त, सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशिल, कानूनतः अवैध र दण्डनीय कार्य भएका कारण त्यस्तो कार्य नगर्न सूचित गरिएको होमागाइको भनाई छ । कानून बमोजिम तोकिएको निकायबाट अनुमति नलिई गरिने कार्य अवैध हुने हुँदा त्यस्तो हर्कत गरेको कसुरमा कानून बमोजिम कडा सजायँ हुने व्यवस्था रहेका कारण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कसैले विपद्को घटना घट्न सक्ने गरी लापरवाही गरेमा वा त्यस्तो घटना घटाउन संलग्न भएमा र ऐन कार्यान्वयन गर्ने सम्वन्धमा जारी भएका आदेश वा निर्देशन पालना नगरेमा त्यस्तो कार्यलाई कसूर मानी कसुरदारलाई कडा सजाय हुने व्यवस्था समेत रहेको प्रजिअ शशिधर घिमिरेको भनाई छ ।
नुवाकोटबासी, आमनागरिकहरुको हित, जीउधन, वनस्पति तथा जीवजन्तुको सुरक्षा, वातावरण संरक्षण एवं समस्त शान्ति व्यवस्था, अमनचयन र सार्वजनिक सुरक्षालाई ध्यानमा राखी अतिप्रज्वलनशील तथा प्रज्वलनशिल पेट्रोलियम पदार्थको अवैध रुपमा खरिद, भण्डारण तथा विक्रिवितरण नगर्न नगराउन हुन समस्त पेट्रोलियम डिलर्स, सम्पूर्ण व्यवसायी–व्यापारी र सर्वसाधारण तथा आम उपभोक्तासमेत सवैलाई सचेत गराउँदै नुवाकोट प्रशासनले जारी गरेको सूचना उल्लेख गरिएको छ । आगलागीजन्य विपद् जोखिम, सार्वजनिक सुरक्षा संवेदनशीलता एवं प्रचलित कानूनी व्यवस्थालाई मध्यनजर गरी कानुन विपरित कोही कसैले अतिप्रज्वलनशील तथा प्रज्वलनशिल पेट्रोलियम पदार्थको अवैध रुपमा खरिद, भण्डारण तथा विक्रिवितरण गरेको पाईएमा प्रचलित कानून बमोजिम हदैसम्मको कारवाही हुने प्रजिअ घिमिरेको भनाई छ ।












































