पन्चकन्यामा क्रसकन्टी दौड आयोजना
विदुर–खेल तथा पर्यटनको विकासका लागि नुवाकोटको पन्चकन्यामा दोस्रो पञ्चकन्या क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना गरिएको छ । यहि चैत ३० गतेको प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको छ ।
दोश्रो पञ्चकन्या नुवाकोट जिल्लास्तरीय क्रसकन्ट्री दौड प्रतियोगिताको विजेता तथा उपविजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् । पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा तय भएकोे प्रतियोगितामा पुरुष÷महिला खुला १० किलोमिटर र पञ्चकन्या पालिकास्तरीय छात्र÷छात्रातर्फ ५ किमि दूरीमा दौड प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
खुल्ला दौडतर्फ पुरुष र महिला दुवैका विजेताले २२ हजार नगद पुरस्कार पाउनेछन् । दोस्रो हुनेले १६ हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउनेछन् ।
५ किमि दुरीको छात्रछात्रा दौडतर्फ विजेताले ११ हजार, दोस्रोले ७ हजार र तेस्रोले ४ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पञ्चकन्या गापाको कार्यालय लाकुरीभन्ज्याङबाट सुरु हुने दौड ‘घ्याङस्वाँरा सहिद स्मारक पर्यटकीय पार्क’ पुगेर सोही रुट घलेभञ्ज्याङ पुगेर सकिनेछ ।
पञ्चकन्या–४ मा निर्माण गरिएको घ्याङ्स्वाँरा सहिद स्मारक पार्कको प्रवद्र्धन तथा जनकल्याण शैक्षिक अक्षयकोष स्थापनाको सहयोगार्थ दौड प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष टीकाराम तामाङको भनाई छ । सोही अवसरमा पञ्चकन्या पालिकाका राष्ट्रिय पदक विजेता खेलाडी सम्मान र चर्चित कलाकार रामहरि भण्डारी, मीना लामा, रामेश्वर भण्डारीलगायतको साथमा सांगीतिक कार्यक्रमसमेत हुनेछ ।
खेलाडीका लागि नाम दर्ता खुला गरिएको कार्यक्रम संयोजक एवं संस्थाका कोषाध्यक्ष रामहरि भण्डारीले बताए । उनका अनुसार चैत २० सम्म प्रत्यक्ष र अनलाइनबाट समेत फर्म भर्न सकिने व्यवस्था गरिएको छ ।
फाराम शुल्क खुल्लातर्फ ५ सय र छात्रछात्राले ३ सय रुपैयाँ शुल्क रहेको छ । सहभागीलाई निःशुल्क टिसर्ट र खानाको व्यवस्था गरिएको छ ।
गत वर्ष फागुन ५ गते् सम्पन्न भएको पञ्चकन्या क्रसकन्ट्री दौडमा पञ्चकन्या–३ की एलिसा तामाङ र लिखु गाउँपालिका–४ का सुदीप राई च्याम्पियन बनेका थिए । पञ्चकन्या पालिकास्तरीय छात्रछात्रा ५ किमि दौडमा पञ्चकन्या–१ की सविना राई र किरण तामाङले जितेका थिए ।
नेपालका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरिएको थियो । उक्त प्रतियोगितालाई एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोग रहेको थियो ।











































