जनप्रतिनिधिहरुलाई सचेतनामुलक कार्यक्रम
बिदुर-नुवाकोटमा जनप्रतिनिधिहरुलाई जलवायु उत्थानशीलताका लागि सचेतनामुलक कार्यक्रम प्रदान गरिएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुलाई सो कार्यक्रम गरिएको हो ।
गैह्रसरकारी संस्था महासङ्घले नुवाकोटका १२ वटै स्थानीय तहका जनप्रतिनिधिहरुलाई जलवायु उत्थान कार्य सुदृढीकरणको सचेतनामुलक अभिमुखीकरण कार्यक्रम प्रदान गरेको हो । महासङ्घले विदुर नगरपालिकामा उक्त अभिमुखीकरण कार्यक्रमको गरेको छ ।
महासङ्घले गत फागुनदेखि नुवाकोटका सबै स्थानीय तहमा पुगेर जनप्रतिनिधिहरुलाई जलवायु उत्थान कार्य सुदृढीकरणको सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सन्चालन गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नगरपालिकाले जलवायु उत्थानशीलताका लागि बर्सेनि बजेट विनियोजनमा पनि कार्यान्वनमा काम भई रहेको बताए ।
वन तथा वातावरण संरक्षण, जैविक विविधता, पानीको मुहान संरक्षण तथा प्रवद्र्धनमा काम गरिरहेको र कृषिमा जलवायुमैत्री प्रविधिको प्रयोग गरी रासायनिक विषादीरहित खाद्यान्न उत्पादन गर्नेतर्फ विदुर नगरपालिका क्रियाशील रहेको उनले बताए ।
गैसस महासंघ नुवाकोटका अध्यक्ष लोचन भट्टराईले जलवायु परिवर्तनले मानवजीवनसँग सिङ्गो पारिस्थितिकीय प्रणालीमा गम्भीर प्रभाव पारेर उत्पन्न जटिल परिवेशमा जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन तथा जैविक विविधता संरक्षणमा स्थानीय सरकार र नागरिक समाजको के भूमिका हुन सक्छ भन्नेबारेमा अभिमुखीकरणमा जानकारी गराइएको बताए । कार्यक्रममा सहभागीहरुले जोखिम न्यूनीकरण, विपद्प्रति कार्यप्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशीलता, जलवायु कोडिङ, जलवायु अनुकूलनका विधि तथा तौरतरिकाका बारेमा जानकारी लिएका थिए ।
जलवायु परिवर्तनमा स्थानीय तहले विकास निर्माणमा गरिने क्रियाकलापमा पनि सुक्ष्म अध्ययन गरी भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद व्यवस्थापन नीतिलाई अवलम्बन गर्दै कार्य गरेमा दीगो विकासको उद्देश्य हासिल हुने निष्कशृ निकालिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा गैह्रसरकारी संस्था महासङ्घको सहयोगमा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत कार्यक्रम भएको थियो ।











































