अध्यक्ष कप राष्ट्रिय भलिवल प्रतियोगिता
विदुर–भलिवल खेलको विकास तथा खेलाडि पहिचानका लागि नुवाकोटको म्यागङमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गरिएको छ । सो प्रतियोगिताका विजेताले सर्वाधिक राशीको पुरस्कार हात पार्नेछन् ।
म्यागङ गाउँपालिकाको आयोजनामा तेश्रो अध्यक्ष कप राष्ट्रिय भलिवल प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितको तयारी तिव्र गतिमा भइरहेको छ ।
सो प्रतियोगिता आगामी वैशाख ७ गतेदेखि १२ गतेसम्म म्यागङ ५ सामरीमा हुने भएको छ । प्रतियोगिताको सम्वन्धमा विदुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजिक तथा म्यागङ गापा अध्यक्ष आशावहादुर तामाङले ऐतिहासिकस्थलमा सामरीको जालपा मन्दिर परिसरमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता सन्चालन हुने जानकारी दिए ।
उनका अनुसार पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा सो मन्दिरमा पुजाआजा गरी नुवाकोट विजय हासिल गरेको हुनाले उक्त स्थानमा तेस्रो संस्करणको राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागिताका लागि नेपालका सातसय ५३ वटै स्थानीय तहलाई आव्हान गरिएको अध्यक्ष तामाङको भनाई छ ।
“प्रतियोगिता अवधिभर पालिकाका क्षेत्रमा सञ्चालन आएका होटेल तथा रेष्टुरेण्टहरुमा खाना तथा आवासको सुपथ मुल्यदर कायम गर्ने छौँ”– उनले अगाडि भने । अध्यक्ष तामाङका अनुसार यसले खेल र खेलाडिहरुको स्तर उकास्न योगदान दिनेछ ।
म्यागङ गापाले प्रतियोगितालाई व्यवस्थित र मर्यादित गर्दै राष्ट्रिय खेल भलिबल खेलको प्रबद्र्धनको लागि अपनत्व लिँदै आईरहेको पालिका उपाध्यक्ष सीता वाइवाले बताइन् । प्रतियोगिताका लागि समूह दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको जनाइएको छ ।
प्रतियोगितामा राष्ट्रिय खेलाडीको पनि सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताका प्रथम हुने पालिकाले नगद ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ, शिलड, मेडल र प्रमाणपत्र पुरस्कार थाप्नेछ । प्रत्येक विद्यामा विजेता खेलाडिहरुले पनि नियम अनुसार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा द्वितीय र तृतीयले क्रमशः २ लाख २ हजार २ सय २२ रुपैयाँ र १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सहआयोजक म्यागङ गाउँपालिका युवा क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिए । उनका अनुसार यसवाट खेल पर्यटनमा वढोत्तरी हुने अपेक्षासमेत गरिएको छ ।












































