विभिन्न सहकारी तथा अभियन्ताहरु सम्मानित

विदुर-जिल्ला सहकारी सङ्घ नुवाकोटले विभिन्न सहकारीहरुलाई सम्मानित गरेको छ । यसका साथै सहकारी अभियन्तालाईसमेत सम्मानित गरेको छ ।
विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । विदुरमा ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमबीच सहकारी, सहकारीकर्मी, अभियन्ता सम्मानित तथा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
जिल्ला सहकारी संघ नुवाकोटले उत्कृष्ट सहकारी, उत्कृष्ट व्यवस्थापक, उत्कृष्ट सन्चालक, उत्कृष्ट कर्मचारी तथा सहकारी अभियन्तालाई विदुरमा आयोजित कार्यक्रममा सम्मानित गरेको हो । बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतले उत्कृष्ट भएकाहरुलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरेर सम्मानित गरेका हुन् ।
संघले दुइपीपल साना किसान महिला सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मान गरेको छ । संहकारीकी अध्यक्ष पवित्रा घिमिरेले आफ्नो सहकारीको सम्मान थापिन् ।
सङ्घका पूर्व जिल्ला अध्यक्ष गोकर्णनाथ न्यौपानेलाई सहकारी अभियन्ताबाट सम्मान गरिएको छ । ग्लोबल उपभोक्ता सहकारी संस्थाकी व्यवस्थापक प्रमिला गुरुङलाई उत्कृष्ट व्यवस्थापकका रुपमा संघले सम्मान गरेको हो ।
गुरुङले सो सहकारीमा २०७४ देखि कार्य गर्दै आई रहेकी हुन् । छहारी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक नारायणप्रसाद खनाललाई उत्कृष्ट सञ्चालक र आदर्श बहुद्धेशीय सहकारी संस्थाका बुद्धिलाल श्रेष्ठलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको छ ।
संघले त्रिशूली बचत तथा ऋण सहकारी संस्थालाई सबैभन्दा बढी राजश्व बुझाउन सफल भएको दर स्वरुप सम्मान गरेको छ । सहकारी संस्थाको प्रबद्र्धन, विकास र संस्थागत सुशासनमा उल्लेखनीय भूमिका निर्वाह गरि योगदान पु¥याएकोले मूल्यांकन सहकारी सन्चालक, व्यवस्थापक, कर्मचारी तथा अभियन्तालाई सम्मान गरिएको सङ्घका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।
संघले च्वाडी पव्लिक माविकी कक्षा १२ की छात्रा सविना श्रेष्ठलाई पांच हजार रुपैयाको छात्रवृत्ति प्रदान गरेको छ । संघले सहकारी संरक्षण तथा सदस्यहरुवीच विस्वासयोग्य गतिविधि गरिने जनाएको छ ।
कार्यक्रममा वागमति प्रदेश सभा सदस्य रमेशकुमार महतले सहकारीले साना वचतकर्ताको सिप प्रवद्र्धन तथा आर्थिक विकासमा योगदान गरेको वताए । केहि सहकारीहरुमा समस्या आएकाले त्यसलाई समाधान गरि क्रियाशील वनाइनु पर्नेमा सांसद महतले वताए ।
जिल्ला सहकारी संघले विदुरस्थित आमाको माया छात्रवासमा रहेका १३ जना वालकहरुलाई पोशाकका लागि जनही एक÷एक हजार रुपैया प्रदान गरेको छ । सोही छात्रवासमा रहेर स्थानीय विद्यालयमा अध्ययनरत पांच जना विद्यार्थीहरुलाई पोशाक नै उपलव्ध गराएको छ ।
संघले विदुर नपा ५ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक अध्ययन प्रतिष्ठानमा आश्रित २५ जना वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरेको छ । उनीहरुको खाद्यान्नका लागि एकमुष्ठ नगद २५ हजार रुपैया प्रतिष्ठाका अध्यक्ष विष्णुप्रसाद नेपाललाई प्रदान गरिएको संघका उपाध्यक्ष अरुणकुमार श्रेष्ठले जानकारी दिए ।
सहकारी दिवसको सन्दर्भमा विदुरमा भएको रक्तदानमा १४ जना रक्तदाताले रक्तदान गरेका छन् । नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड, ६८ औं सहकारी दिवस मुल समारोह समितिको आयोजनामा र जिल्ला सहकारी सङ्घ लिमिटेड नुवाकोटको समन्वयमा भएको रक्तदान कार्यक्रममा महिला र पुरुष गरि १४ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक रामराजा श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी नुवाकोटद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो । राष्ट्रिय सहकारी दिवसको अवसरमा विदुरमा आयोजित वक्तृत्वकलामा सुनीता तामाङ प्रथम भएकी छिन् ।
विदुर नगरपालिकाले आयोजना गरेको ‘मर्यादित सहकारीः समुन्नत समाज’ विषयक वक्तृत्वकलामा प्रतियोगितामा समृद्धि बचत तथा ऋण सहकारी संस्थाकी सुनीता प्रथम भएकी हुन् ।
तुप्चे साना किसान सहकारी संस्थाकी विजया तिवारीअधिकारी द्वितीय र श्रीकृष्ण बचत तथा ऋण परिचालन सहकारी संस्थाका श्रीराम नेपाल तृतीय भएका छन् । यसैगरी बच्छला बहुउद्देश्यीय सहकारी संस्थाका पुरुषोत्तम अधिकारीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
विजेताहरुले क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैया पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको विदुर नपाको सहकारी शाखाकी प्रमुख नानीमैया नेपालले जानकारी दिइन् । विजेताहरुलाई विदुर नपाकी उपमेयर प्रभा बोगटीले पुरस्कार वितरण गरिन् ।
प्रतियोगितामा नगरपालिका क्षेत्रमा सञ्चालित सहकारी प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । उता, नुवाकोटको म्यागङ गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारीहरुको नियमन र अनुगमन गर्ने भएको छ ।
गापाले उद्देश्य विपरित सञ्चालित र लामो समयदेखि निष्क्रिय रहेका सहकारी संस्थाहरुलाई नियमन गर्न सुरु गरेको गापा अध्यक्ष आशावहादुर तामाङले बताए । चालु आर्थिक वर्षभित्र कार्यान्वन हुने गरी झोलामा केन्द्रीत सहकारीलाई नियन्त्रण गरिने उनले बताए ।
गाउँपालिकाको सहकारी ऐन, २०७५ को दफा ६६ बमोजिम संस्था विघटन र दर्ता खारेजीका लागि आवश्यक प्रक्रिया सुरु गरिएको उनले बताए । तोकिएको समय सीमाभित्र मापदण्डहरु पालना नगरेका त्यस्ता सहकारी संस्थाहरु खारेज गर्न इच्छुक भएकालाई खारेज तथा अध्यावधिक गर्नको लागि गाउँपालिकाले आह्वान गरेको गापा उपाध्यक्ष सीता वाइवाले बताइन् ।
हाल म्यागङ गापामा कृषि सहकारी ११, बहुउद्धेशीय सहकारी ९, चिया सहकारी २ र कफी ३ सहकारी गरी २५ वटा सहकारी संस्था दर्ता भएका छन् ।