महिलाहरुको सिप विकास कार्यक्रम
विदुर–महिलाहरुलाई सिप सिकाएर स्वरोजगार वनाउने उद्धेश्यले विभिन्न सिपमुलक कार्यक्रम सुरु गरिएको छ । सिप र स्वरोजगारलाई प्राथमिकता दिदै आएको उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटको आयोजनामा एकै पटक तीन तालिम सन्चालन भएको हो ।
तालिममा ४० जना महिलाहरुले सहभागिता जनाएका छन् । दुई महिने सिलाईकटाई, दुई महिने ब्युटीपार्लर र १० दिने डल तथा कुसन बनाउने तालिम सन्चालन गरिएको कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए ।
महिलालाई आत्मनिर्भर बनाउन विदुर नपा १ मा एकैसाथ तीन तालिम सन्चालन गरिएको उनको भनाई छ । कार्यक्रमकाबीच उपमेयर प्रभा बोगटीले तालिमको उद्घाटन गरिन् ।
उनले सिप सिकेर स्वरोजगार र स्वावलम्भी हुन सहभागीहरुलाई आग्रह गरिन् । उनले तालिम जीवन उपयोगी हुने भएकोले लगनशीलताका साथ सिप सिक्न आग्रह गरिन् ।
प्रतिस्पर्धात्मक युगमा आय आर्जनमूलक सीप महत्वपुर्ण रहेका कारण महिलालाई सिप प्रदान गरिएको उद्योग वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यक्रममा विदुर १ का वडाध्यक्ष लेनिन रञ्जितले तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने भएकाले महिला दिदिबहिनीहरु स्वरोजगार र आत्म निर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेर्त योगदान पु¥याउने बताए ।











































