निर्देशक खनालको के घर के डेराः घर नं. २

विदुर–पशुपतिप्रसाद व्राण्डका दीपेन्द्र के खनाल निर्देशित पछिल्लो चलचित्र ‘के घर के डेराः घर नं २’को प्रदर्शन मिति नजिकिदै छ । अवको एक महिनापछि यसको प्रदर्शन हुने मिति तय भइसकेको छ ।
प्रदर्शन हुने मिति तय भएसंगै यस चलचित्रको टिजर सार्वजनिक गरिएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछानेलगायतका स्थापित कलाकारले स्थान पाएका छन् ।
‘के घर के डेराः घर नं २’ आगामी जेठ २ गते रिलिज हुँदैछ । चलचित्रमा खगेन्द्रसँगै आर्यन सिग्देल, निश्चल बस्नेत, उपासना सिंहठकुरी, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतका कलाकारको अभिनय रहेको छ ।
टिजरमा आम नेपाली निम्न वर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य टिजरमा छ ।
गाउँबाट काठमाडौं आएर संघर्ष गर्ने आम नेपालीको संघर्षलाई टिजरले उठान गरेको छ । पशुपतिको किनारामा रहेका दुई दुःखी पात्रको कथा साटेको देखाएको टिजरले सामाजिक कथावस्तु सिनेमाले उठाउने प्रष्ट पारेको छ ।
पारिवारिक प्रेम, वियोग र मानसिक यातना टिजरमा समेटिएको छ । पृथ्वी एक डेराको रुपमा रहेको र हरेक मान्छेले भाडा तिरिरहेकाले तेरो र मेरो भन्नुको कुनै अर्थ नरहेको सन्देश टिजरमा उल्लेख छ ।
टिजरमार्फत चलचित्रले गम्भीर कथा भन्ने प्रष्ट पारेको छ । यसअघि निर्माण पक्षले केहि दिन अगाडि चलचित्रका मुख्य कलाकारलाई स्पेश दिँदै तीनवटा पोस्टर सार्वजनिक गरेको थियो ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण गरिएको हो । चलचित्रको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका हुन् भने उनको यो पहिलो चलचित्र हो ।
चलचित्रमा कृष्णबहादुर थापाको छायांकन रहेको छ । ‘के घर के डेरा घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्माताको रूपमा युवराज कार्की रहेका छन् ।