दुप्चेश्वरमा वढ्दै भक्तजन

विदुर–यातायातको सहजतासंगै नुवाकोटको रामतीस्थित दुप्चेश्वर महादेवको मन्दिरमा दैनिक रुपमा भक्तजनहरु वढ्ने क्रम रहेको छ । पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायतको सहजतासंगै भक्तजनहरु आउने क्रम वढिरहेको छ ।
दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित करेजुङको ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा शनिवार मात्र एकैदिन झण्डै पौने दुई लाख रुपैया भेटि संकलन भएको छ । भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।
दुप्चेश्वरमा शनिबार एकलाख ५९ हजार पांचसय ४५ रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्दिरमा सन्ध्या आरतीको ७५ हजार ६ सय ८० रुपैया र क्युआरमार्फत पांचसय पांच रुपैया संकलन भएको छ ।
दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे गणना गर्ने कार्य भइरहेको छ । श्रेष्ठका अनुसार पछिल्लो वर्ष मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय क्रियाशील रहेको बताए ।
यातायात र वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो । हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थामको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा नयाँ वर्षको एकै दिनमा तीन लाख भन्दा बढी भेटी सङ्कलन भएको थियोे ।
दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार नयां वर्ष २०८२ को पहिलो दिन वैशाख १ गते सोमबार मात्र मन्दिरमा श्रद्धालुहरूले चढाएको गरेको भेटी रकम तीन लाख पाँच हजार तीन सय ४५ रुपैयाँ संकलन भएको थियो । मन्दिरमा सोही दिन सन्ध्या आरतीमार्फत . १ लाख २९ हजार ७ सय ५५ क्युआर कोडमार्फत १५ हजार रुपैया भेटी संकलन भएको थियो ।
दुप्चेश्वर मन्दिर जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ । सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् ।