शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

विदुर–शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । उनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरिएको छ ।
प्रधानमन्त्री केपी शर्माओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई वुधवार शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको बिहीबार शपथ गराउने कार्यक्रम तय भएको छ ।
शपथको समय भने तय भइनसकेको स्रोतले बताएको छ । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् ।
वैशाख ८ गते सोमवार विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले काम गर्न असहज भएकोलगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् ।
यद्यपि प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले स्वास्थ्यको कारण देखाएकी थिइन् । प्रधानमन्त्री केपी शर्माओलीले रिक्त शिक्षामन्त्रिमा पन्तलाई मन्त्री बनाएको हो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ गराउने तयारी छ ।
ऊर्जा राज्यमन्त्री तामाङ परे बर्खास्तीमा
ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्माओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् ।
स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएका छन् । मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा पटकपटक अभिव्यक्ति दिएका तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन् ।
यसअघि सरकारले बर्खास्त गरेका नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए । घिसिङसँग मिलेर आफूले डेडिकेटेड र ट्रंक लाइन विवादमा रहेका उद्योगहरुको लाइन काट्दै हिँड्ने उनले बताएका थिए ।
राज्यमन्त्री तामाङ र घिसिङ दुवै रामेछाप जिल्लाका हुन् । त्यतिमात्रै होइन, सिँचाइ विभागको कार्यक्रममा आफूसँग मञ्चमा नबसेको भन्दै उनले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका थिए । सचिवलाई स्पष्टीकरण सोध्ने अधिकार राज्यमन्त्रीलाई हुँदैन । मुख्यसचिवले मात्रै सचिवलाई स्पष्टीकरण सोध्नसक्ने व्यवस्था कानूनमा छ ।