दुग्ध उत्पादक किसानलाई डेरीमै अनुदान
विदुर-नुवाकोटको विदुर नगरपालिकाले दुग्ध उत्पादक किसानहरुलाई अनुदान प्रदान गरेको छ । नियमित रुपमा दुध उत्पादन गरिरहेका किसानहरुलाई स्थानीय तहमार्फत दुध उत्पादक किसान प्रवद्र्धन कार्यक्रमअन्र्तगत डेरीमै पुगेर अनुदान रकम वितरण गरिएको हो ।
वागमति प्रदेश सरकारले उपलव्ध गराएको सो कार्यक्रमअन्तर्गतको दुधको अनुदान रकम बिदुर नगरपालिकाले वितरण गर्न सुरु गरेको हो । हालसम्म तीन वटा डेरीमा नियमित रुपमा दुध विक्रि गरिरहेका एकसय दुई जना ग्रामीण किसानहरुलाई दुध उत्पादनमा प्रोत्साहन गराउने उद्धेश्यले अनुदान वापतको रकम वितरण गरिएको हो ।
विदुर नगरपालिकाले स्थानीय कृषकहरूलाई दुध उत्पादनमा प्रोत्साहन गराउने उद्देश्यले प्रोत्साहन रकम हस्तान्तरण गर्न सुरु गरेको हो । ‘किसानलाई दुधमा प्रोत्साहन कार्यक्रम’ अन्तर्गत दैनिक कम्तिमा १० लिटर भन्दा माथि परिमाणको दूध नजिकको डेरीमा बिक्री गर्ने कृषकहरूलाई प्रति लिटर ३ रुपैयाँ ५० पैसाका दरले प्रोत्साहन रकम हस्तान्तरण गर्न सुरु गरेको हो ।
विदुर नपाले यस कार्यक्रमको लागि किसानले दैनिक रुपमा विक्री गरिरहेको दुध डेरीमै पुगेर अनुदान रकम हस्तान्तरण गरेको हो । विदुर नपा–५ स्थित देवीघाटमा रहेको भुवनेश्वरी डेरी सप्लायर्समा नियमित दुध विक्रि गरिरहेका दुध विक्रेता कृषकहरूलाई पहिलो् चरणको अनुदान रकम हस्तान्तरण गरिएको हो ।
विदुर नपाका मेयर राजन श्रेष्ठले दुध डेरीमै पुगेर अनुदान वापत प्राप्त रकम किसानलाई हस्तान्तरण गरे । उनले विदुर नपाले किसानलाई प्रोत्साहन गर्न सुरु गरेको उल्लेख गर्दै किसान संरक्षणका अन्य कार्यक्रमसमेत सन्चालन गरिरहेको वताए ।
अनुदान रकम हस्तान्तरण कार्यक्रममा विदुर नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले किसानको हितमा तीनै तहको सरकारले विभिन्न कार्यक्रमहरु सन्चालन गरिरहेको र यसलाई नियमित गरिने वताए । सोही क्रममा विदुर नपाका जनप्रतिनिधि तथा कर्मचारीले स्थानीय सरोकारवाला र लाभग्राही कृषकहरूसँग दुध उत्पादन, बजार व्यवस्थापन र वर्तमान समस्याहरूका विषयमा अन्र्तक्रियासमेत गरेका थिए ।
’उत्पादन दूधमा प्रोत्साहन कार्यक्रम’ अन्र्तगत विदुर नपामार्फत पहिलो चरणमा दुई महिनाको अबधि (पुस–माघ) मा लिइएको तथ्याङ्कको आधारमा दैनिक कम्तिमा १० लिटर दूध भुवनेश्वरी डेरीमा बिक्रि वितरण गरिरहेका ३३ जना किसानलाई प्रदान गर्न सुरु गरिएको हो । विदुर नपा ५ देवीघाटमा मात्र चार सय जना दुग्ध उत्पादक किसान रहेका छन् ।
अनुदानबाट दुग्ध व्यवसायमा संलग्न कृषकहरूको मनोबल उच्च भएकोे र उत्पादनमा थप सुधार हुने उपमेयर प्रभा वोगटीले बताइन् । किसानहरुलाई गत पुस र माघ महिनामा संकलित दुधको तथ्याङ्कका आधारमा अनुदान रकम वितरण गरिएको हो ।
विदुर नपामा रहेका विभिन्न नौ वटा डेरीमा आवद्ध किसानहरुले यस वर्ष दुधको अनुदान रकम पाउने भएका छन् । यसवाट किसानहरु उत्साहित भएको विदुर नपाले जनाएको छ ।











































