रक्तदान गरेर प्रविधि दिवस मनाइयो
विदुर–नुवाकोटको विदुरमा रक्तदान गरेर सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको छ । विभिन्न क्षेत्र तथा पेशा, व्यवसायमा आवद्ध व्यक्तिहरुले रक्तदान गरेका छन् ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा विदुरस्थित लोकतान्त्रिक चौतारोमा रक्तदान कार्यक्रम समपन्न गरिएको हो । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) नुवाकोटको आयोजनामा भएको रक्तदानमा ३० जनाले रक्तदान गरेको आयोजक क्यान नुवाकोटका अध्यक्ष नारायणकुमार घलेको भनाई छ ।
यसअघि, कार्यक्रमको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले उद्घाटन गरेका थिए । उनले पछिल्लोसमय रगतको अभाव भइरहेको हुंदा यस प्रकारको रक्तदानले रगत अभाव टार्न मद्धत पु¥याएको बताए ।
रक्तदानमा ३० जनाले रक्तदान गरेका थिए । जिल्लामा बर्षेनी रगत माग बढ्दै गए पनि रक्तदाताको सङ्ख्या भने त्यस अनुपातमा बढ्न नसकेको अवस्थामा यस कार्यक्रममा सहयोग पु¥याएको रेडक्रस नुवाकोटका कार्यवाहक सभापति उद्धव शर्मारिजालले वताए ।
उनले रक्तदाता खोजी गर्नुपर्ने चुनौती देखा परेको बताए । कार्यक्रममा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।
सूचना तथा सञ्चार प्रविधिको प्रचारप्रसार, समावेशी प्रयोग र डिजिटल सशक्तिकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्षको ‘मे’ २ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस दिवसलाई सरकारले गत २०७४ साल वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकमार्फत राष्ट्रिय दिवसको मान्यता दिएको हो ।

यसवर्ष राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको आठौँ संस्करण ‘सूचना प्रविधिको अभियानः डिजिटल नेपालको निर्माण’ भन्ने नाराका साथ मनाइएको हो । आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा रक्तदानसहित सूचना प्रविधिको अपरिहार्यता र डिजिटल नेपालको निर्माणमा सवैको साझा प्रयासको महत्वलाई उजागर गरेको क्यान महासंघ नुवाकोटले जनाएको छ ।











































